समाचार

ललितपुरमा थप ६ जनाको शव भेटियो



ललितपुर, १५ असोज । वर्षाजन्य विपद्‌मा परी ललितपुरमा मृत्यु भएका थप ६ जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार, विपत्तिको खोज तथा उद्धारका क्रममा सोमबारसम्म ३४ र आज बिहान ६ गरी हालसम्म ४० जनाको शव फेला परेको हो ।

फेला परेका मध्ये १७ शव पोस्टमार्टम भई आफन्तले बुझेर लगेको छ । पाटन अस्पतालमा आएका शवमध्ये १७ जनाको शव पोस्टमार्टम भई आफन्तले बुझेर लगेको छ । अरू फेला परेका शवलाई प्रहरीको सहयोग र समन्वयमा पोस्टमार्टमका लागि पाटन ल्याउने काम भइरहेको छ ।

नेपाल प्रहरीले आज बिहान अद्यावधिक गरेको तथ्यांकानुसार, महांकाल गाउँपालिका–२, मानिखेल, लक्ष्यबासका नौ वर्षीय आयुष स्याङ्तान, महांकाल–२, ठोस्ने खोलाका एकै परिवारका ४० वर्षीया राममाया स्याङ्तान, उनका छोरा १४ वर्षीय अजय स्याङ्तान, अर्का छोरा ११ वर्षीय सुवास स्याङ्तान र छोरी नौ वर्षीया सलिना स्याङ्तानको शव फेला परेको छ ।

प्रहरीका अनुसार, वर्षाजन्य विपद्‌मा परेर अझै १० जना बेपत्ता छन् । प्रहरीले अद्यावधिक गरेको तथ्यांकानुसार, महांकाल–३, गोटीखेलका ईश्वर तिमल्सिना, उनकी आमा र श्रीमती गोमा असोज १२ गतेदेखि बेपत्ता छन् ।

यस्तै, रौतहट घर भई ललितपुर महानगरपालिका–१४, नखिपोट कान्तिपुर कोलोनीमा बस्दै आएका पाँच वर्षीय सेतु साह, ओखलढुंगा घर भई ललितपुरमा बस्दै आएका ४० वर्षीय देवराज कार्की, रौतहटको गौर गाउँपालिका–६ घर भई ललितपुर–१४, कान्तिपुर कोलोनीमा बस्दै आएका ३२ वर्षीय बिकाउ साह बेपत्ता छन् ।

गोदावरी नगरपालिका–६, आनन्दवन अस्पतालमा काम गरी बस्ने ३० वर्षीय विवेक सिंह, वाग्मती गाउँपालिका–१, घुसेलका ५० वर्षीय केशव न्यौपाने, महांकाल–२ की १२ वर्षीया सञ्जिता स्याङ्तान, ३५ वर्षीय छविलाल स्याङ्तान र छविलालकी भाउजू (नाम नखुलेको) बेपत्ता छन् ।