समाचार

आज पोखरामा निःशुल्क बस सञ्चालन



कास्की,  २६ असोज। विजयादशमीका दिन आज पोखराका विभिन्न सातवटा रुटमा निःशुल्क बस सञ्चालन भएका छन् ।

विगत वर्षहरुमा जस्तै टीकाको दिनमा यातायातको साधन अभाव भएर नागरिकले सास्ती पाउने बाध्यता अन्त्य गर्न जिल्ला प्रशासन कार्यालय र पोखरा महानगरपालिकाले यातायात समितिसँगको सहकार्यमा निःशुल्क बस सञ्चालन गरेका हुन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले पोखराका सातवटा रुटमा चारवटा कम्पनीका १८ बसले निःशुल्क सेवा दिने जानकारी दिए । ती बसहरु आज अपराह्न ४:०० बजेसम्म सञ्चालन हुनेछन् ।

पोखराका कोत्रे–पृथ्वीचोक–चिप्लेढुङ्गाहुँदै बागलुङ बसपार्कसम्म, फेदी–हेमजा–हरिचोकहुँदै पृथ्वीचोकसम्म, लामाचौर–बगर–महेन्द्रपुल–चिप्लेढुङ्गा–सृजनाचोक–विरौटाहुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा–बगर–महेन्द्रपुल–चिप्लेढुङ्गा–सृजनाचोक–विरौटाहुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा–बगर महेन्द्रपुल–पृथ्वीचोक–विरौटा–सहिदचोकहुँदै लेकसाइडसम्म बस सञ्चालन हुनेछन् ।