काठमाडौँ, २ कार्तिक । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं तत्कालीन गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् ।
जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौँबाट लामिछानेलाई पक्राउ गरेको हो ।
जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी गरेको थियो । जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरेको थियो । त्यसअनुसार ब्यूरो खटिएका एक जना प्रहरी उपरीक्षक (एसपी) नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।
पोखराको सूर्यदर्शन सहकारी ठगीमा उनको संलग्नता देखिएको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदन दिएको थियो ।
सोही प्रतिवेदनका आधारमा अनुसन्धान गर्न प्रहरीले उनीविरुद्ध पक्राउ अनुमति मागेको हो । कास्की जिल्ला अदालतबाट उनलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी लिएको हो । सहकारी हिनामिना प्रकरणमा मुछिएका उनलाई पक्राउ गर्न अदालतबाट प्रहरीले पुर्जी लिएको हो ।
यसअघि सोही प्रकरणमा लामिछानेका पूर्वसाझेदार तथा पूर्वडीआईजी छविलाल जोशी पक्राउ परिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्