Banner News

सरकार ढाल्न खबरदारी सभा गरेको होइन, आफैँ कुहिएर ढल्छ : अध्यक्ष प्रचण्ड



काठमाडौँ, १० कार्तिक । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अब कसैसँग गठबन्धन नगरेर एक्लै चुनाव लडेर विगतमा गरिएको गल्ती सच्याउने बताएका छन् ।

आज काठमाडौँमा गरिएको खबरदारी सभामा बोल्दै उनले उनले विगतमा कांग्रेस, एमाले जस्ता बेइमान दलसँग मिल्नु गल्ती भएकाले अब त्यसलाई सच्याउन चाहेको बताए ।

माओवादी घटकहरूको एकता र आफ्नो पार्टीको सुदृढीकरणबाट एक्लै चुनाव लडेर २०६४ को अवस्थामा पुग्न सकिने बताए । माओवादीकै नेतृत्वमा ‘ग्रीन रेभ्युलेसन’ उल्लेख गर्दै उनले भने– ‘जब माओवादी जनतातर्फ फर्कने छ, जनताले माओवादीलाई विगतको गल्तीको माफी दिँदै साथ दिने छन् ।’ 

उनले अब आफूहरूले बन्दुक बाँड्नु छैन, जनता छोराछोरीलाई उत्पादनको औजार बाँडेर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने बताए । उत्पादन वृद्धि गर्दै देशभित्रै लाखौं युवाहरूलाई आत्मनिर्भर बनाउने र भ्रष्टाचारविरुद्धको अभियानमा एकताबद्ध गरेर लैजाने बताए । आफू उमेरले ७० वर्ष भए पनि अझै एउटा क्रान्तिको नेतृत्व गर्ने चाहना रहेको उनले बताए ।

उनले अहिलेको सरकार ढाल्नका लागि नभई खबरदारी गर्न माओवादी सडकमा आएको बताए । उनले भ्रष्टाचारी, दलाल, बिचौलियालाई संरक्षण गर्ने अहिलेको सरकार आफैँ  कुहिएर झर्ने टिप्पणी गरे । 

उनले माओवादीले खबरदारी सभा गर्ने बित्तिकै सत्तापक्ष आतङ्कित भएको बताउँदै अझै भ्रष्टाचारीलाई संरक्षण नगर्न चेतावनी दिए । अध्यक्ष प्रचण्डले माओवादीले सरकारको भ्रष्ट गतिविधिमाथि खबरदारी नगर्ने हो भने सङ्घीय लोकतान्त्रिक गणतन्त्र नै खतरामा पर्ने बताए । संविधान र गणतन्त्रको रक्षाका लागि खबरदारीमा जान आवश्यक रहेको उल्लेख गर्दै सडकबाट सरकार फाल्न नलागेको टिप्पणी गरे ।