समाचार

१६ दिनमा २७ सयजना अनलाइनबाटै ट्राफिक प्रहरीको कारबाहीमा



काठमाडौँ, २० कार्तिक । ट्राफिक प्रहरीले डिजिटल लाइसेन्सलाई मान्यता दिएसँगै अनलाइनमार्फत करिब दुई हजार ७०० जनालाई कारबाही गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही कार्तिक ४ गतेदेखि ट्राफिक प्रहरीले नागरिक एपमा रहेको डिजिटल लाइसेन्स जाँच एवं अनलाइनबाटै कारबाही गर्ने व्यवस्था लागु भएको थियो । 

कार्तिक २० गते बिहान ६ बजेसम्म दुई हजार ७०२ जनालाई अनलाइन अथवा ई–चलानबाट कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । उनीहरूलाई अनलाइनबाट तत्काल जरिवाना तिर्नसक्ने गरी कारबाही गरिएको हो ।

कारबाहीमा परेका यी व्यक्तिबाट १५ लाख ५२ हजार २२१ रुपैयाँ राजस्व उठ्ने भएको छ । हालसम्म ९८ जनाबाट पाँच हजार १५० रुपैयाँ राजस्व संकलन भएको छ । कारबाहीमा परेका अन्य व्यक्तिबाट राजस्व उठ्न बाँकी छ ।