राजनीति

आयोगले सोध्यो ६ उमेदवारलाई स्पष्टीकरण



काठमाडौँ, १४ मंसिर । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेका ६ उमेदवारलाई स्पष्टीकरण सोधेको छ ।

आयोगले बिहीबार कीर्तिपुर नगरपालिका र काठमाडौँ महानगरपालिकाका वडा नम्बर १६ का गरी ६ उमेदवारलाई स्पष्टीकरण सोधेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले उपनिर्वाचनको आचारसंहिता विपरीतका कार्य गरेको पाइएकाले स्पष्टीकरण सोधिएको बताए । 

आयोगले निर्वाचन अचासंहिताको पालना भए/नभएको अनुगमनका लागि टोली गठन गरेको थियो । टोलीले अनुगमनबाट आचारसंहिता विपरीतका कार्य भएको देखिएको रिपोर्ट प्रस्तुत गरेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

आयोगले कीर्तिपुर नगरपालिकाका मेयर उमेदवार नेकपा (माओवादी केन्द्र)का शिवशरण महर्जनलाई स्पष्टीकरण सोधेको छ । मेयरकै स्वतन्त्र उमेदार राजनमान महर्जनलाई आयोगले स्पष्टीकरण सोधेको हो । 

काठमाडौँ महानगरपालिका १६ को राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट उमेदवार बनेकी रोजिना श्रेष्ठ, नेकपा (एकीकृत)का मीनबहादुर मानन्धरलाई आयोगले स्पष्टीकरण सोधेको हो । 

त्यस्तै काठमाडौँ –१६ कै अध्यक्षका लागि स्वतन्त्र उमेदवार बनेका सम शाक्य र पशुपति काठायतलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ ।