काठमाडौँ, १६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको सोमबारबाट हुने चारदिने औपचारिक चीन भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ । भ्रमण तयारीकै क्रममा चीन प्रस्थान गरेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेर शनिबार स्वदेश फर्किसकेकी छन् । सबैभन्दा पेचिलो बन्दै आएको बीआरआईसम्बन्धी दस्ताबेजमा सत्तारूढ कांग्रेस र एमालेले शुक्रबार नै सहमति जुटाइसकेका छन् ।
प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाले शनिबार साँझ राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर चीन भ्रमणको तयारीबारे जानकारी गराएका छन् । ‘प्रधानमन्त्रीज्यूले आसन्न चीन भ्रमणका विषयमा र परराष्ट्रमन्त्रीज्यूले आफ्नो चीन भ्रमणबारे राष्ट्रपतिलाई जानकारी दिनुभयो,’ राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने । राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई बिहीबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ ।
चीन भ्रमणका क्रममा सम्झौता गर्ने तयारी गरिएको बीआरआईसम्बन्धी दस्ताबेजमा सत्तारूढ कांग्रेस र एमालेबीच सहमति जुटाएर मस्यौदा बनाउने कार्यदललाई प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले धन्यवाद दिएका छन् । कार्यदलका तीन सदस्य र एक प्राविधिक सदस्यलाई शनिबार बालुवाटारमा बोलाएर सहमतिमा दस्ताबेजको मस्यौदा तयार पार्ने महत्त्वपूर्ण जिम्मेवारी पूरा गरेको भन्दै ओली र देउवाले धन्यवाद दिएका हुन् । ओली र देउवासँगको भेटमा कार्यदलका तर्फबाट कांग्रेसका महामन्त्री गगन थापाले मस्यौदाबारे विस्तृत जानकारी गराएका थिए ।
चीनले प्रस्ताव गरेको बीआरआई कार्यान्वयनसम्बन्धी दस्ताबेजमा सत्तारूढ दलहरूमा फरक–फरक मत देखिएपछि सहमति जुटाउन तीन सदस्यीय कार्यदल बनाइएको थियो । कार्यदलमा एमालेका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा तथा कांग्रेसका तर्फबाट महामन्त्री गगन थापा थिए ।
प्राविधिक सहयोगीका रूपमा अन्तर्राष्ट्रिय कानुनी मामिलाका जानकार सेमन्त दाहाल संलग्न थिए । कार्यदलले प्रस्तावित ‘बीआरआई कार्यान्वयन योजना’ को सट्टा ‘बीआरआई सहकार्य फ्रेमवर्क’ शीर्षक राखेर सम्झौता गर्ने गरी सहमति जुटाएको थियो । दस्ताबेजको अन्तर्वस्तुमा पनि संशोधन गरेर कार्यदलले मस्यौदा तयार गरेको थियो ।
ओली र देउवाले धन्यवाद ज्ञापनका लागि बोलाएको बैठकमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी थिए । कांग्रेसका तर्फबाट गृहमन्त्री रमेश लेखक, उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला उपस्थित थिए । शुक्रबार तयार गरिएको दस्ताबेजको मस्यौदा नेपाल सरकारले चीन सरकारलाई पठाइसकेको छ ।
परराष्ट्रमन्त्री राणाले पनि शुक्रबारै नेपाल सरकारको प्रस्तावबारे चिनियाँ अधिकारीलाई जानकारी गराइसकेकी छन् । चिनियाँ पक्षसँग अनौपचारिक तहमा छलफल गरेरै मस्यौदा तयार गरिएको र त्यसमा सकारात्मक प्रतिक्रिया पनि आएको नेताहरूको भनाइ छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा उक्त मस्यौदामा हस्ताक्षर हुने सम्भावना छ ।
बीआरआईअन्तर्गत सञ्चालन हुने परियोजनामा नेपाल सरकारले अनुदान मात्रै लिने सत्तारूढ दुई दलको साझा धारणा बनेको छ । बीआरआई परियोजनामा ऋण नलिने नीति उनीहरूले बनाएका हुन् । बीआरआई सहकार्य फ्रेमवर्ककै मस्यौदामा नेपालले पूर्वाधार, सहरी विकास र कनेक्टिभिटीसँग सम्बन्धित एक दर्जन परियोजनाको सूचीसमेत राखिएको छ ।
नेपाल पक्षले बीआरआईका लागि टोखा–खहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग, काठमाडौं–हेटौंडा पोडवे, अमरगढी सिटी हल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन, काठमाडौं उपत्यका प्रसारण लाइन स्तरोन्नति, मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स परियोजना अघि सार्न लागेको हो ।
नेपाल र चीनबीच बीआरआईसम्बन्धी समझदारीपत्रमा सन् २०१७ मै हस्ताक्षर भए पनि नेपालमा त्यसअन्तर्गत कुनै परियोजना सुरु भएको छैन । परियोजना सञ्चालनका लागि केही वर्षयता चीनले कार्यान्वयन योजना सम्झौता गर्नुपर्ने सर्त राख्दै आएको थियो । सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भए नेपालमा बीआरआई परियोजना सञ्चालनको ढोका खुल्नेछ ।
‘बीआरआई दुवै देशको सहमतिमै अघि बढ्छ’
परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालमा बीआरआई परियोजना दुवै देशको सहमतिमै अघि बढ्ने बताएकी छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमण सकेर शनिबार स्वदेश फर्किएकी उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘अहिले नेपाल ऋण लिन सक्ने अवस्थामा छैन । चिनियाँ पक्षसँग पनि यही विषयमा कुराकानी भयो ।’
मन्त्री राणाले नेपाल र चीनबीच सदियौंदेखि घनिष्ठ एवं मित्रवत् सम्बन्ध रहिआएको उल्लेख गर्दै ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाई जनस्तरमा विस्तार गर्न दुई देशबीच समय समयमा उच्चस्तरीय भ्रमण आदानप्रदान हुने गरेको बताइन् । ‘मेरो यो भ्रमण पनि त्यसैको निरन्तरता हो,’ उनले भनिन् ।
मन्त्री राणाले भ्रमणका क्रममा शुक्रबार छेन्दुमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेकी थिइन् । वाङसँग दुवै देशमा रहेका अवसर र सम्भावनालाई आपसी हितका लागि भरपूर सदुपयोग गर्दै सम्बन्ध थप बलियो बनाउने विषयमा छलफल भएको उनले जानकारी दिइन् ।
आफूले चीनसँग व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक, सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ सम्बन्धकेन्द्रित रहनुपर्ने धारणा राखेको र चिनियाँ समकक्षीले त्यसमा चीन सरकार सकारात्मक रहेको बताएको उनको भनाइ छ ।
मन्त्री राणाका अनुसार भेटवार्तामा दुवै पक्षबाट भएका उच्चस्तरीय भ्रमणका बेला गरिएका समझदारी र सम्झौतालाई तदारुकताका साथ कार्यान्वयनमा लैजाने विषयमा पनि सहमति भएको छ । ‘नेपाल–चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षमा सौहार्दपूर्ण कुराकानी भयो,’ उनले भनिन्, ‘प्रधानमन्त्रीको चीन भ्रमणको तयारीबारे पनि छलफल भयो ।’ यस भ्रमणले आपसी विश्वासको वातावरणलाई थप सुदृढ बनाएको मन्त्री राणाको भनाइ छ । कान्तिपुर
प्रतिक्रिया दिनुहोस्