काठमाडौँ, २० मंसिर । चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बुधबार बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्दै ‘एक चीन सिद्धान्तमा नेपालका सबै राजनीतिक दल एकमत रहेको’ बताएका छन् । ओलीले भरपर्दो छिमेकी र कहिल्यै नटुट्ने साझेदारका रूपमा दुई मुलुकले आपसी हितका विभिन्न क्षेत्रमा नजिकबाट सहकार्य गर्ने बताए । उनले साझा समृद्धि र सफलता सहयोगको भावनामा बीआरआईजस्ता राष्ट्रपति सीको दूरदर्शी पहलको प्रशंसा गरे ।
‘चीनले आफ्ना ८० करोड जनतालाई गरिबीबाट बाहिर निकालेको छ । र, ‘खुसीसँग समृद्धि’ को प्रेरणादायी उदाहरण स्थापित गरेको छ । जहाँ विकासले कल्याण र समानतालाई समेट्छ,’ ओलीले सम्बोधनका क्रममा भने । चीनको चामत्कारिक आर्थिक विकासबाट नेपालले आफ्नै विकास यात्रामा लाग्न बहुमूल्य पाठ सिकेको उनको भनाइ थियो । ‘नेपाल र चीनले साझा समृद्धि र स्थायी मित्रताको भविष्यको परिकल्पना गर्न सक्छन् । जुन पारस्परिक सम्मान र सबैका लागि राम्रो संसारको खोजीमा प्रेरित भएर हो,’ उनले भने ।
यस्तै, ओलीले सम्बोधनकै क्रममा पुरानो र नयाँ लोकतन्त्र भन्दै चर्चा गरे । उनले लोकतन्त्रको विचारलाई अगाडि बढाउने क्रममा त्यसको वर्गीय चरित्रबारे बहस देखा परेको उल्लेख गरे । ओलीले ती बहसबाट प्रायः पुरानो र नयाँ लोकतन्त्र भन्ने बीचको भिन्नता निम्त्याएको प्रस्ट पारे । ‘पुरानो लोकतन्त्रमा प्रिभिलेज (सुविधा प्राप्त) वर्गले नेतृत्व लियो । जसलाई बुर्जवाज पनि भनिन्छ । जबकि संघर्ष गर्ने जनता राजनीतिक रूपान्तरणको सम्पूर्ण प्रक्रियामा समेत थिचोमिचोमा
रह्यो,’ उनले भने, ‘यस विपरीत नयाँ लोकतन्त्रले समाजका विभिन्न तहका उत्पीडित र शोषित समूहसँग मिलेर काम गर्ने वर्गलाई अग्रपंक्तिमा राखेको देख्यो ।’ प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा चीन र पेकिङ विश्वविद्यालयलाई नेपालको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको शिक्षा क्षेत्रमा स्तरोन्नतिका लागि रणनीतिक सहकार्य गर्न आग्रह गरेका छन् । ओलीले सम्बोधनको सुरुवातमा निमन्त्रणाका लागि पेकिङ विश्वविद्यालयका अध्यक्षलाई धन्यवाद दिएका थिए । उनले भनेका थिए, ‘देशभक्तिको गौरवशाली परम्परासहितको विश्वविद्यालयमा बस्ने यो अवसरले मलाई गहन रूपमा उत्प्रेरित गरेको छ ।’
ओलीले सम्बोधनका क्रममा आफ्नो युवावस्थामा पेकिङ विश्वविद्यालयको प्रेरणादायक यात्राका विषयमा पढेको बताएका थिए । उनले सन् १९१९ मा उक्त विश्वविद्यालयमा साम्राज्यवादविरोधी र सामन्तवादविरोधीमै चौथो आन्दोलन सुरु भएको उल्लेख गरे । उनले भने, ‘त्यो आन्दोलन आधुनिक चीनको इतिहासमा एउटा महत्त्वपूर्ण मोड थियो । र, समृद्ध र लामो इतिहास बोकेको यो संस्थामा आज यहाँ उभिन पाउनु मेरो सौभाग्य हो ।’ कान्तिपुर
प्रतिक्रिया दिनुहोस्