राजनीति

प्रधानमन्त्रीद्वारा उद्योग मन्त्रालयलाई समृद्धिको यात्रामा लाभ पुग्ने योजना र कार्यक्रम ल्याउन निर्देशन



काठमाडौँ, १२ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको यात्रामा लाभ पुग्ने, आयात प्रतिस्थापन गरी निर्यात बढाउने र रोजगारी अभिवृद्धि गर्ने गरी ठोस योजना र कार्यक्रम ल्याउन निर्देशन दिएका छन् ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा स्वदेशी वस्तुको प्रयोग वृद्धि र रूग्ण उद्योग सञ्चालनबारे ब्रिफिङपछि उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग, रुग्ण उद्योगहरूको प्रभावकारी सञ्चालन र रोजगारी वृद्धिका विषयमा काम गर्नसमेत निर्देशन दिए ।

लामो समयदेखि बन्द र अन्योलको अवस्थामा रहेका गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट, विराटनगर जुट मिल, जनकपुर चुरोट कारखाना, हेटौंडा सिमेन्ट, हेटाैंडा कपडा, नेपाल ओरियन्डलगायत उद्योगलाई सरकारको स्वामित्वमा निजी क्षेत्रको साझेदारी वा उपयुक्त ढाँचामा सञ्चालन गरी उत्पादन र रोजगारी बढाउने विषयमा छलफल भएको थियो । यसैगरी, पेट्रोलियम पदार्थ र फलाम खानीको उत्खनन्‌का प्रगतिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो ।

छलफलमा हालै सरकारले जारी गरेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१, लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन नीति, २०८१ र राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८१ को प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयका तर्फबाट प्रस्तुतिकरण गरिएको थियो ।