काठमाडौँ, १५ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका छन् ।
राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले तमु ल्होसार पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर भई प्रगति पथमा अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन् । नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरु भएको अवसरको रूपमा हर्षोल्लासका साथ मनाउने चलन रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले गुरुङ समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लामा यो पर्व धूमधामसँग मनाइने स्पष्ट पारेका छन् ।
शुभकामना सन्देशमा भनिएको छ, “बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबिच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु ।”
प्रतिक्रिया दिनुहोस्