राजनीति

सूर्यविनायकको राष्ट्रिय प्राणी उद्यानको डीपीआर वन मन्त्रालयमा



काठमाडौँ, १५ पौष । शिलान्यासको ८ वर्षपछि राष्ट्रिय प्राणी उद्यानको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेस भएको छ । भक्तपुरको सूर्यविनायक जंगलमा अन्तर्राष्ट्रिय मापदण्डको खुला चिडियाखाना बनाउने गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले डीपीआर पेस गरेको हो । 

ललितपुरको जावलाखेलस्थित चिडियाखाना सानो हुँदा वन्यजन्तु थप गर्न नसकिएकाले सरकारले सूर्यविनायकमा उद्यान निर्माण गर्न लागेको हो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै २०७३ असार ९ मा उद्यानको शिलान्यास गरेका थिए । विभागका महानिर्देशक रामचन्द्र कँडेलले डीपीआर वन मन्त्रालयमा विचाराधीन रहेको बताए । ‘यसमा मन्त्रीज्यूले पनि चासो दिनुभएको छ । चाँडै स्वीकृत हुने जानकारी पाएका छौं,’ उनले भने ।

प्राणी उद्यान सूर्यविनायक नगरपालिका ६, ७ र ८ वडाका (सेतीदेवी, सूर्यविनायक, सञ्जीवनी, लिखानारायण, मन्थली, बालकुमारी र गौरादेवी) गरी सात वटा सामुदायिक वनको २ सय ५९ हेक्टर क्षेत्रफलमा निर्माण हुनेछ । २ सय ४५ हेक्टरमा अन्तर्राष्ट्रियस्तरको चिडियाखाना र राष्ट्रिय प्रकृति संरक्षण कोषले १४ हेक्टरमा पशु उपचार केन्द्र निर्माण गरिनेछ । ‘यसमा दुर्लभ, संकटापन्न वन्यजन्तु हुन्छन्,’ विभागका महानिर्देशक कँडेलले भने, ‘सहरको कोलाहलबाट टाढा, संरक्षण, अध्ययन अनुसन्धान गर्ने क्षेत्र बनोस् भनेर काम गर्न खोजिएको हो ।’

उद्यानको अहिलेको अनुमानित बजेट १० अर्ब रुपैयाँ छ । पूर्वाधार निर्माण, जनावरको औषधि उपचार, तिनीहरूलाई ल्याउन, संरक्षण गर्नलगायत खर्च लाग्ने उनले सुनाए । ‘मन्त्रालयबाट स्वीकृत भई बजेट पाए निर्माण सम्पन्न गर्न पाँच वर्ष लाग्छ,’ कँडेलले भने । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले उद्यान निर्माण अगाडि बढाउन लागेको बताए । ‘जावलाखेलको सदर चिडियाखाना छ हेक्टरमा मात्र फैलिएको छ,’ उनले भने, ‘कतिपय वन्यजन्तु थप गर्नुपर्ने आवश्यकता हुँदाहुँदै पनि हालको क्षेत्रमा यो सम्भव देखिँदैन ।’ सदर चिडियाखानालाई उपत्यकाको ऐतिहासिक एवं ‘हेरिटेज जु’ को रूपमा विकास गर्दै लाने योजना रहेको मन्त्री शाहीले बताए ।

यसैगरी सरकारले सातै प्रदेशमा प्राणी एवं वनस्पति उद्यान निर्माण गर्ने तयारी गरिरहेको छ । सोही बमोजिम गण्डकी प्रदेशको तनहुँमा विस्तार गर्न लागिएको भानुभक्त प्राणी उद्यानको मुआब्जा दिने र निजी जग्गा अधिग्रहण गर्ने प्रक्रियामा रहेको कँडेलले जानकारी दिए । यसबीच, जावलाखेल सदर चिडियाखाना सञ्चालनको २९ वर्ष पूरा भएको छ । १९८९ सालमा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाले चिडियाखाना स्थापना गरेका थिए । चिडियाखानाको व्यवस्थापन राष्ट्रिय प्रकृति संरक्षण कोषलाई ६० वर्षका लागि हस्तान्तरण गर्ने भनी २०५२ पुस १४ को मन्त्रिपरिषद्बाट निर्णय भएको थियो ।

थप ३० वर्ष कोषले व्यवस्थापन गर्ने भनी मन्त्रिपरिषद्ले गत कात्तिक २ गते निर्णय गरेको छ । निर्णयबमोजिम कोष र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबीच चिडियाखानाको सञ्चालन व्यवस्थापनका लागि सम्झौता नवीकरण भएको छ । आइतबार सम्झौता पत्रमा कोषका सदस्यसचिव नरेश सुवेदी र विभागका महानिर्देशक रामचन्द्र कँडेलले हस्ताक्षर गरे । सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जावलाखेल सदर चिडियाखाना ललितपुरको गहना भएकाले यसलाई विस्थापित गर्न नपाइने बताए । ‘यहाँ नअटेको बाघ, भालु लानुस् तर चिडियाघरै लान पाइँदैन,’ उनले भने, ‘यो चिडियाखाना ललितपुर महानगरको गहना हो ।’

जावलाखेल सदर चिडियाखाना प्रमुख सत्यनारायण शाहका अनुसार जावलाखेल सदर चिडियाखानामा प्रतिदिन ३ हजार जनाले अवलोकन गर्दै आएका छन् । यसबाट चिडियाखानाले दैनिक ५ देखि ६ लाख रुपैयाँसम्म राजस्व संकलन गर्ने गरेको छ । ‘वन्यजन्तुको दानापानीमा मात्रै वार्षिक तीन करोड रुपैयाँ खर्च हुन्छ,’ उनले भने ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक चिरञ्जीवी रिजालले यस अवधिमा वन मन्त्रालय अन्तर्गतका विभिन्न निकाय र सुरक्षा निकायसँगको सहकार्यमा विभिन्न प्रजातिका ५ हजारभन्दा बढी वन्यजन्तुहरूको उद्धार, उपचार र पुनःस्थापना गरिएको जानकारी दिए । कोषका संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलका अनुसार चिडियाखानाको व्यवस्थापन कोषलाई हस्तान्तरण गर्दाको बखतमा कुल १०४ प्रजातिका जम्मा ६६० वन्यजन्तु थिए । ‘हाल ११९ प्रजातिका १४०६ वटा वन्यजन्तु रहेका छन्,’ उनले भने, ‘स्तनधारीका ४० प्रजाति, पक्षीका ६०, सरिसृपका ११ र माछाका ८ प्रजाति छन् ।’ कान्तिपुर