Banner News

सार्वजनिक सेवा प्रसारणलाई स्वायत्त बनाइने छ : सञ्चारमन्त्री गुरुङ



काठमाडौँ, ४ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारणलाई स्वायत्त बनाइने बताएका छन्  ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागद्वारा आज यहाँ आयोजित ‘नेपालमा सार्वजनिक सेवा प्रसारण नीति’ संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सार्वजनिक सेवा प्रसारणमा सत्ता शक्तिको छायाँ पर्न दिनु हुँदैन भन्नेमा सरकार सहमत रहेको बताए । समावेशिता, पारदर्शिता तथा जनमुखी शासन स्थापनाको उद्देश्य पूर्ति गर्न सार्वजनिक सेवा प्रसारण प्रणाली सुरु गरिएको उनको भनाइ थियो । यसलाई जनसरोकारका विषयमा राज्यलाई झक्झक्याउने निकायका रुपमा विकास गर्न खोजिएको उनले उल्लेख गरे ।

सरकारले सार्वजनिक सेवा प्रसारणको अन्तर्राष्ट्रिय अभ्यास अध्ययन गरी देशको परिस्थिति र आवश्यकताअनुरुप लागू गर्न खोजेको मन्त्री गुरुङले बताए । त्यसका लागि ऐन कानुनमा यथोचित सुधारका साथै आर्थिक रुपले आत्मनिर्भर गराउने प्रयास सरकारको रहने उनले बताए ।

सार्वजनिक सेवा प्रसारणले राज्यका सबै निकायको कार्य, तिनको जवाफदेहिता र जनतामा परेको प्रभावको खोजी गर्नुपर्ने तथा त्यसका लागि आलोचनात्मक चेत आवश्यक हुने मन्त्री गुरुङको भनाइ थियो । रेडियो नेपाल र नेपाल टेलिभिजन विगतमा तत्कालीन सरकारको सहयोगी मात्र रहेको परिचयबाट सर्वसाधारणको आवाज मुखरित गर्ने माध्यमका रुपमा परिणत गर्न खोजिएको उनले बताए ।