Banner News

द्रुतमार्गमा काम सुस्त, ७ वर्षमा साढे ३७ प्रतिशत प्रगति



मकवानपुर, ५ माघ । नेपाली सेनाले काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण व्यवस्थापनको जिम्मा लिएको ७ वर्ष भयो । अहिलेसम्म निर्माण प्रगति ३७.६० प्रतिशत छ । कुल ७०.९७७ किलोमिटरमध्ये ६४.४७७ किमिमा मात्र काम भइरहेको छ । ललितपुरको खोकना खण्डको ६.५ किमिमा अझै ठेक्का व्यवस्थापन हुन सकेको छैन । 

निर्माणाधीन द्रुतमार्गको निरीक्षण गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार यसको प्रगति र समस्याारे सेनासँग जानकारीसमेत लिएका छन् । उक्त अवसरमा राष्ट्रपति पौडेलले मकवानपुरको बकैया गाउँपालिकाअन्तर्गत ११ र १२ नम्बर वडामा ‘ब्रेक थ्रु’ गरिएका लेनडाँडा र धेद्रे सुरुङको अवलोकन गरे ।

‘ब्रेक थ्रु’ को अन्तिम तयारीमा रहेको महादेवटार सुरुङमार्गको निर्माण अवस्थाबारे पनि उनले प्रगति विवरण लिए । ‘आयोजना छिटो सम्पन्न भएको खण्डमा आमजनताको दैनिकीमा सहजता थपिनेछ,’ राष्ट्रपति पौडेलले भने । निरीक्षणका क्रममा उनले आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशनसमेत दिए ।

द्रुतमार्गको सुरु लागत अनुमान १ खर्ब ११ अर्ब रुपैयाँ थियो, पछि संशोधन गरेर १ खर्ब ७५ अर्ब रुपैयाँ पुर्‍याइएको हो । फेरि संशोधन गरेर २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ बनाइएको छ । तर निर्माणमा अहिलेसम्म करिब ७२ अर्ब ४१ करोड रुपैयाँ खर्च भइसकेको छ । यसको निर्माण व्यवस्थापनको जिम्मा सेनाले २०७४ जेठमा पाएको हो । सेनाका अनुसार कुल सडकमध्ये १०.६१३ किमि सुरुङ र १२.८८ किमि पुलको दूरी पर्छ ।

द्रुतमार्गमा ७ वटा सुरुङ निर्माण गरिँदै छ । त्यस्तै ८९ वटा पुल निर्माण हुँदै छन् । यसमध्ये ८० वटा पुलको निर्माण जारी छ भने ५ वटा बनिसकेका छन् । थप चारवटा पुल खोकना खण्डमा पर्ने भएकाले निर्माण सुरु नै भएको छैन । खोकना–बुङ्मती खण्डको २ सय ११ रोपनी जग्गा अझै अधिग्रहण हुन नसक्दा पुल निर्माणले गति लिन नसकेको हो । २२५० मिटरको चन्द्राम भीर सुरुङको निर्माण अघि बढाइएको सेनाले जनाएको छ ।

एक किलोमिटरको देवीचौर र ३९० मिटर दूरीको सिसौटार सुरुङमार्ग डिजाइनका क्रममा छ । गत कात्तिक २५ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार ५८३ मिटरको मौरीभीर सुरुङ थपिएको छ । यसको निर्माण प्रक्रिया पनि अघि बढाइएको छ । मकवानपुरको राजदमार इलाकामा ५ पुलको निर्माण सकिएको हो । अन्य स्थानमा ८१ मिटरसम्म उचाइ रहेका विभिन्न पुलको फाउन्डेसन तथा सब स्ट्रक्चर र सुपर स्ट्रक्चरको काम भइरहेको छ ।

द्रुतमार्ग निर्माणका क्रममा हालसम्म ३६ हजार १ सय ७९ वटा विभिन्न प्रजातिका रूख कटान गरिएको सेनाले जनाएको छ । काटिएका रूखको सट्टामा हालसम्म ७ लाख ५ हजार ५ सय ५२ बिरुवा रोपिएको सेनाको दाबी छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको द्रुतमार्ग निर्माणलाई २०८० वैशाख ५ को मन्त्रिपरिषद् बैठकले २०८३ चैतसम्मको समय दिएको छ । कान्तिपुर