काठमाडौँ, ७ माघ । लमजुङका किसानले अलैँची बिक्री गरेर २२ करोड रुपैयाँ आम्दानी गरेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १५० मेट्रिक टन अलैँची किसानले बिक्री गरेका छन् । यस वर्ष जिल्लामा प्रतिकिलो एक हजार पाँचदेखि दुई हजार चार सयसम्ममा अलैँची बिक्री भएको छ ।
आर्थिक वर्ष २०७९/८० मा तीन सय ८० मेट्रिक टन अलैँची बिक्रीबाट रु २० करोड आम्दानी भएको थियो । उक्त वर्ष प्रतिकिलो अलैँची कम्तीमा रु पाँच सय ५० देखि सात सयसम्म बिक्री भएको थियो । जिल्लामा सबैभन्दा बदी मर्स्याङ्दी गाउँपालिकाका किसानले अलैँची उत्पादन गर्ने गरेका छन् ।
मर्स्याङ्दी गाउँपालिका–५ सन्जापुका स्थानीयले मात्र यस वर्ष ६ हजार सात सय केजी अलैँची बिक्री गरी रु एक करोड ५० लाख आम्दानी गरेको सन्जापु अलैँची कृषक समूहका अध्यक्ष कामकाशि गुरुङले बताए । गाउँका करिब ६० घरधुरीले लगाएको अलैँचीखेतीबाट उक्त आम्दानी भएको हो ।
भारतको एकाधिकारका कारण किसानको मागअनुसार अलैँचीको मूल्य नपाएको गुनासो भए पनि यस वर्ष केही राहत महसुस गरेको किसानहरुको भनाइ छ ।
जिल्लामा ७५० हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आए पनि ३७५ हेक्टर क्षेत्रफलमा उत्पादन हुँदै आएको उक्त कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्