विराटनगर, ७ माघ । मोरङ विराटनगरको मानगढ खानेपानी आयोजनाको निर्वाचनबाट सुरु भएको विवाद उत्कर्षमा पुग्दा एमालेबाट राजीनामा दिने लहर सुरु भएको छ ।
एमाले विराटनगरको ३ नम्बर वडा समितिका १८ जनाले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । उनीहरूले गत पुस २५ गते बसेको महानगर कमिटीको पदाधिकारी बैठकबाट भएको निर्णयप्रति असहमति जनाएका हुन् ।
यसरी राजीनामा दिनेहरूमा वडा अधिवेशन आयोजक समितिको उपसंयोजक हिरा बस्नेत रिजाल, उपसचिव कुशुला काफ्ले निरौला, अनोज गौतम (अनुज), सदस्यहरू गौरीशङ्कर रेग्मी, दिलीप श्रेष्ठ, सीता कट्टेल, नारायण सुवेदी, तुलसी सुवेदी, चुँडामणि तिम्सिना, पुष्प आचार्य, लक्ष्मण थापा, दलमान तामाङ, भगवती पोखरेल, होम निरौला, अन्नपूर्ण पोखरेल, अर्जुन कटुवाल, बिराज अधिकारी, उपा सिवाकोटी रहेका छन् ।
सामूहिक राजीनामा पत्रमा उल्लेख छ, ‘पार्टी नेतृत्वले सामूहिक छलफलको माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा कसैसँग परामर्श तथा छलफल नगरी विना जानकारी ३ नं.वडा अधिवेशन आयोजक कमिटीको नामावलीमा सङ्गठित सदस्यता समेत नरहेका, अन्य पार्टीमा रहेका व्यक्तिहरू समेत राखिएको पाइयो जुन अत्यन्तै दुःखद हो,’ ‘सामूहिक प्रयासबाट नेतृत्व चयन गर्ने लोकतान्त्रिक प्रक्रियालाई बेवास्ता गरी माथिल्लो कमिटीबाट गठन गरी जानकारी भएको नेतृत्वमा रही पार्टीको जिम्मेवारी बहन गर्न असमर्थ रहेको ब्यहोरा अवगत गराउँदै सामूहिक रूपमा राजीनामा पेश गर्दछौँ ।’
प्रतिक्रिया दिनुहोस्