अर्थ

दुई अर्ब ९५ करोड बराबरको चिया निर्यात



झापा, ८ माघ । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा चिया निर्यात ५५.७० प्रतिशतले बढेको छ । 

कार्यालयको तथ्यांकनुसार (साउन–पुस)सम्ममा  दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ । सोही अवधिमा ११ हजार २३२.२७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । गत आव २०८०/८१ को सोही अवधिमा रु एक अर्ब ९० करोड ५ लाख ६ हजार बराबरको चिया निर्यात भएको थियो । 

कार्यालयको तथ्यांकनुसार चालु आव २०८१/८२ को पुस मसान्तसम्म अलैँचीको निर्यात १६ दशमलव सात प्रतिशतले बढेको छ । चालु आवको ६ महिनामा चार अर्ब ५५ करोड ७० लाख ६९ हजार बराबरको अलैँची निर्यात भएको छ । गत आव २०८०/८१ को सोही अवधिमा रु तीन अर्ब ९० करोड ५८ लाख ०६ हजार बराबरको अलैँची निर्यात भएको थियो ।

कार्यालयको तथ्यांकनुसार प्लाइउड २७.९०, सिमेन्ट क्लिंकर चार हजार १४१, भेनियर सिटको निर्यात २३६ प्रतिशतले वृद्धि भएको छ । फलामे पाता, छुर्पी, अदुवा, काउली, बन्दागोपी, ब्रोकाउली, फलामलगायत वस्तुको निर्यातमा कमी आएको छ । पूर्वी नाकामा रहेको मेची भन्सारबाट चालु आवको ५ महिनामा १३ अर्ब ८४ करोड चार लाख ३९ हजारको मालवस्तु निर्यात भएको छ ।