समाचार

ज्येष्ठ नागरिकलाई कम्बल वितरण



नेपालगञ्ज, ९ माघ । केही दिनयता नेपालगञ्ज र आसपासका क्षेत्रमा शीतलहरसहित चिसो बढेपछि स्थानीय तहले ज्येष्ठ नागरिकलाई लक्षित गरी कम्बल वितरण सुरु गरेका छन् । 

आठ स्थानीय तह रहेको बाँकेका सम्बन्धित स्थानीय तहसँगको समन्वयमा पालिकाका विभिन्न चोकमा दाउरा बालेर आगो ताप्ने प्रबन्ध गरिएको जिल्ला विपद् व्यवस्थापन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । जिल्लाको कोहलपुर नगरपालिकाका सबै वडाका एक सय ४० स्थानमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाइएको बताउँदै उहाँले विभिन्न पालिकामा हालसम्म चार सय ७५ कम्बल वितरण गरिएको उल्लेख गरे । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले स्थानीय तहबाट लक्षित समुदायलाई कम्बल वितरण भइरहेको उल्लेख गर्दै चिसो बढेपछि निजी तथा सरकारी विद्यालय बन्द भएको जानकारी दिए ।

केही दिनअघि बसेको जिल्ला विपद् व्यवस्था समितिको बैठकले जिल्लास्थित वन डिभिजन कार्यालयसँग सहुलियत दरमा दाउरा खरिद गरेर चिसोमा आगो ताप्ने प्रबन्ध गर्ने निर्णय गरेको थियो । अहिलेसम्म चिसो बढेपछि करिब ६० क्विन्टल दाउरा खरिद गरी जिल्लाका विभिन्न स्थानीय तहमा वितरण भएको छ ।