अर्थ

राष्ट्र बैंकको नियमनमा रहेका कुनै पनि संस्थालाई समस्यामा पर्न दिँदैनौं: गभर्नर अधिकारी



काठमाडौँ, १० माघ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नियमनमा रहेका कुनै पनि संस्थालाई समस्यामा पर्न नदिने बताएका छन् ।

बिहीबार राष्ट्रिय वाणिज्य बैंकको ६० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थासम्बन्धी सम्पूर्ण तथ्यांक राष्ट्र बैंकसँग हुने गरेको भन्दै त्यसलाई व्यवस्थापन गर्ने जिम्मेवारी पनि राष्ट्र बैंकको भएको बताए । गभर्नर अधिकारीले बाहिरका हल्लाका पछाडि नलाग्न समेत आग्रह गरे ।

उनले भने, ‘राष्ट्र बैंकले रेगुलेट गरेको कुनै पनि संस्थालाई हामी समस्यामा पर्न दिँदैनौं । यो हाम्रो एक खालको प्रत्याभूति नै हो । त्यसै हिसाबले नै हाम्रो रिसोर्सेसहरु परिचालन भएको छ । निरीक्षण गर्छौं, सुपरिवेक्षण गर्छौं, नियमन गर्छौं । बैंक वित्तीय संस्थाहरुमा उतारचढाव आउँछन् । नआउने हैन । त्यसलाई हामीले स्वभाविक रुपमा लिनुपर्छ । तर, अप्ठ्यारो परेको बेला कसरी म्यानेज गरिन्छ, त्यो कुरा महत्वपूर्ण हो । यो मामिलामा नेपाल राष्ट्र बैंक एकदमै सचेत छ । हामीले प्रत्येक वित्तीय संस्थाहरुलाई नजिकबाट हेरिरहेका छौं ।’