अर्थ

राष्ट्र बैंकद्वारा १५ वित्तीय संस्थाका सीईओलाई कारबाही



काठमाडौँ, ११ माघ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एकै पटक १५ वटा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । ब्याज अनुदानको सहुलियत कर्जा दुरुपयोग गरेको आरोपमा राष्ट्र बैंकले सात विकास बैंक र आठ फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई कारबाहीस्वरूप सचेत गराएको हो ।

‘पुनर्कर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको अध्ययन गर्न नियुक्त गरेको परामर्शदाताले पेस गरेको प्रतिवेदनमा ती संस्थाहरूबाट प्रवाह भएका कर्जामध्ये दुरुपयोग भएको वा दुरुपयोगको आशंका भएको भनी कैफियत जनाएका कर्जाहरूको सम्बन्धमा सम्बन्धित संस्थाले सो संस्थाको आन्तरिक लेखापरीक्षणबाट तयार गरी यस बैंकमा प्रतिवेदन पेस भएको छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ, ‘प्रतिवेदनमा खुलाइएअनुसार संस्थाबाट प्रवाह भएका केही सहुलियतपूर्ण कर्जा सदुपयोग नभएबाट सहुलियतपूर्ण कर्जासम्बन्धी मार्गदर्शन र यस बैंकबाट जारी सोसम्बन्धी निर्देशन उल्लंघन भएको हुँदा ७ वटा विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम ती वित्तीय संस्थाका कार्यकारी प्रमुखलाई सचेत गराइएको छ ।’

लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, सालपा विकास बैंक, गरिमा विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका सीईओ कारबाहीमा परेका छन् । समृद्धि फाइनान्स कम्पनी, पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, आईसीएफसी फाइनान्स, जानकी फाइनान्स कम्पनी, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स र गुडविल फाइनान्सका सीईओ पनि कारबाहीमा परेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल राष्ट्र बैंकले दुई विकास बैंक र दुई फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । नियामकीय व्यवस्था उल्लंघन गरेको आरोपमा राष्ट्र बैंकले ती संस्थालाई कारबाही गरेको हो । यसरी कारबाही भोग्नेमा गरिमा विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, पोखरा फाइनान्स र सेन्ट्रल फाइनान्स छन् । गरिमा विकास बैंकले कालोसूचीमा रहेका ऋणीलाई व्यक्तिगत अधिविकर्ष कर्जा प्रवाह गरेको पाइएपछि सचेत गराइएको राष्ट्र बैंकले बताएको छ । केन्द्रीय बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ भने अहिले व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको छ ।