समाचार

चिसोका कारण सुनसरीको जनजीवन प्रभावित



काठमाडौँ, १२ माघ । केही दिनदेखि बढेको चिसोका कारण सुनसरीको जनजीवन प्रभावित भएको छ ।

बाक्लो हुस्सु र चिसो हावाका कारण सदरमुकाम इनरूवा सहित जिल्लाको विभिन्न ठाउँको जनजीवन प्रभावित भएको हो ।

चिसोका कारण इनरूवा, भोक्राहा, कोशी, गढी, दुहबी, रामधुनी, इटहरी, धरान, बराहक्षेत्र, हरिनगर, देवागञ्जलगायत क्षेत्रमा बसोबास गर्ने स्थानीय बढी जोखिममा रहेका स्थानीय मनोज यादवले बताए ।

दैनिक रूपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको स्थानीयवासीले बताएका छन् । अत्यधिक चिसो र बाक्लो हुस्सुका कारणले मानिसलाई घरबाट बाहिर निस्कानका लागि समस्या हुने गरेको स्थानीय चन्दन मेहताले बताए ।

चिसोका कारणले दैनिकी मजदुरी गरेर गुजारा गर्दै आएकालाई समस्या भएको छ । चिसो, बाक्लो, हुस्सु र सित खस्ने गरेका कारणले घरबाट निस्कनेलाई समस्या हुँदै आएको छ भने दैनिक मजदुरी गरेर घर परिवार चलाउँदै आएकालाई समस्या भएको कोशी–७ का झगडु सदाले बताए ।