काठमाडौँ, १४ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताकेता पत्र पठाएको लामो समयपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २३ पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरेको छ ।
पालिकाले वरिष्ठ हुँदाहुँदै कनिष्ठ र प्रशासन सेवाभन्दा बाहिरका कर्मचारीलाई जथाभावी रूपमा निमित्त दिएको उजुरीका आधारमा उनीहरूको अधिकार रद्द गरेको हो । मन्त्रालयका अनुसार धनुषाको धनुषाधाम, सप्तरीको कञ्चनरूप, सिरहाको सिरहा, महोत्तरीका लोहपट्टी र भागाहा, बाराको महागढी, पर्साको पोखरिया, जाजरकोटको छेडागाड, अछामको मंगलसेन र दार्चुलाको महाकाली गरी १० नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको अधिकार खोसिएको हो ।
त्यस्तै, खोटाङको दिप्रुङ चुइचुम्मा, धनुषाका औरही र मुखियापट्टी मुसहरनिया, सर्लाहीका धनकौल र ब्रह्मापुरी, बाराको सवर्ण, मुगुको सोरु र खत्याड, हुम्लाका ताँजाकोट, अदानचुली र सिमकोट, अछामको चौरपाटी र बझाङको दुर्गाथली गाउँपालिकामा कार्यरत निमित्त प्रशासकीय अधिकृतको पनि आर्थिक र प्रशासनिक अधिकार खोसिएको छ ।
प्रतिक्रिया दिनुहोस्