राजनीति

त्रिवि डिन कार्यालयले ३ सहायक डिन मात्र नियुक्त गर्न पाउने



काठमाडौँ, १४ माघ । त्रिभुवन विश्वविद्यालयले मातहतका अध्ययन संस्थान र संकायका कार्यालयमा बढीमा ३ जना मात्रै सहायक डिन नियुक्त गर्न पाउने व्यवस्था गरेको छ । कार्यकारी परिषद्को शुक्रबार बसेको बैठकले ९ वटै संस्थान र संकाय डिन कार्यालयमा लागू हुने गरी उक्त निर्णय गरेको रेक्टर खड्ग केसीले जानकारी दिए ।

यसअघि राजनीतिक भागबन्डाका आधारमा ४ जनासम्म सहायक डिन नियुक्त गर्ने अभ्यास हुँदै आएको थियो । सहायक डिनसहित सहपरीक्षा नियन्त्रकको संख्या पनि घटाउने विषयमा कार्यकारी परिषद्मा छलफल भएको रेक्टर केसीले बताए । यसअघि कांग्रेस, एमाले, माओवादी र अन्य साना पार्टीका तर्फबाट पनि कोटामा नियुक्ति गर्न सहायक डिन, सहपरीक्षा नियन्त्रकको पद अनावश्यक रूपमा थप हुँदै आएको थियो ।

चिकित्साशास्त्र अध्ययन संस्थान, इन्जिनियरिङ अध्ययन संस्थान, व्यवस्थापन, मानविकी, शिक्षा, विज्ञान तथा प्रविधि संकायमा ४ सहायक डिन नियुक्त हुँदै आएका थिए । कानुन संकाय, वन विज्ञान र कृषि तथा पशु विज्ञान संकायमा ३–३ जना सहायक डिन रहने व्यवस्था छ । ‘कानुन, वन, कृषिलगायत विद्यार्थी संख्या कम रहेका डिन कार्यालयमा २–२ जना सहायक डिन भए पनि पुग्छ,’ रेक्टर केसीले भने, ‘विद्यार्थी संख्या धेरै भएका ठूला डिन कार्यालयमा बढीमा ३–३ जना नियुक्त गर्न सकिने व्यवस्था भएको छ ।’ उनले तत्काललाई सबैतिर ३ जना सहायक डिन भनिए पनि साना डिन कार्यालयमा २ जना मात्रै राख्ने व्यवस्था गर्न पनि कार्यकारी परिषद्मा छलफल भएको बताए ।

यसअघि ४ डिन नियुक्त गरेर भर्ना, परीक्षा, प्रशासन, पाठ्यक्रमको छुट्टाछुट्टै जिम्मा दिने अभ्यास हुँदै आएको थियो । भागबन्डाकै लागि कतिपय क्याम्पसमा मनोमानी रूपमा सहायक क्याम्पस प्रमुख कायम गरी नियुक्तिको अभ्यास हुँदै आएको पदाधिकारीहरू बताउँछन् । केही क्याम्पसमा ४ भन्दा बढी सहायक प्रमुख नियुक्त हुने गरेका छन् । सहायक डिनको नियुक्तिको संख्या यकिन गरेपछि सहायक क्याम्पस प्रमुख नियुक्तिमा पनि नियन्त्रण गर्दै जाने कार्यकारी परिषद्को तयारी छ ।

त्रिविले प्रतिस्पर्धाका आधारमा ८ जना डिन, २० भन्दा बढी क्याम्पसमा प्रमुख, सहपरीक्षा नियन्त्रकलगायत नियुक्त गरेपछि सहायक डिन, विभागीय प्रमुखहरूको नियुक्ति प्रक्रिया पनि अघि बढाउने भएको छ । त्रिविको नियुक्तिमा राजनीतिक भागबन्डा कायमै रहेको आरोप पनि लाग्दै आएको छ ।

त्रिविका प्राध्यापकहरू भने नियुक्तिमा विश्वविद्यालयमा पढाउने, पढ्ने र अनुसन्धानमा खटिनेहरू प्राध्यापकहरूको बाहुल्य बढ्दै गएको तर्क गर्छन् । पार्टी र संगठनले सिफारिस गरेका मात्रै नियुक्ति हुने विगतको अभ्यासबाट कम्तीमा आवेदन दिएर प्रतिस्पर्धामा उत्रन पाइने व्यवस्था भएको उनीहरूको भनाइ छ । क्याम्पस प्रमुख नियुक्तिमा भागबन्डा भएको आरोप लगाउँदै सत्तारूढ नेविसंघ र अनेरास्ववियुले उपकुलपतिलगायत पदाधिकारीको विरोध गर्दै आएका छन् । विश्वविद्यालय प्रशासनले भने केही क्याम्पसमा आफूनिकट प्राध्यापक नियुक्ति गर्न केही विद्यार्थी र पूर्वविद्यार्थी नेताहरूले दबाब दिएको तर अनुकूल निर्णय नहुँदा भागबन्डाको आरोप लगाएर विरोध गरेको दाबी गरेका छन् ।

अघिल्लो साता नेविसंघ त्रिवि इकाइले क्याम्पस प्रमुख नियुक्तिमा असन्तुष्टि राख्दै रेक्टर र रजिस्ट्रारको बर्खास्तगी गर्नसमेत माग गरेको थियो । शनिबार नेविसंघका सभापति दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै विश्वविद्यालयको नियुक्तिमा भागबन्डा मान्य नहुने चेतावनी दिएका छन् ।

त्रिवि विश्वविद्यालय क्याम्पस कीर्तिपुरको प्रमुखमा दरखास्त माग गर्दा २ जनाको मात्रै आवेदन परेको छ । सिफारिस समितिले कम्तीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था भए पनि २ जनाले मात्रै आवेदन दिएका हुन् । काठमाडौं उपत्यकाका अन्य क्याम्पस प्रमुखका लागि भने ३ भन्दा बढी प्राध्यापकको आवेदन परेको थियो ।

विश्वविद्यालयको क्याम्पसको क्षेत्राधिकार बढी भएको र विद्यार्थीको चाप पनि बढी हुने हुँदा प्राध्यापकहरू इच्छुक नदेखिएका हुन् । प्राध्यापक अक्कलदेव मिश्र र सहप्राध्यापक उद्धव सिग्देलले प्रमुखका लागि आवेदन दिएका छन् । समितिले छनोट र सिफारिस प्रक्रिया अघि बढाएको छ । समितिको सिफारिसमा कार्यकारी परिषद्ले प्रमुख नियुक्ति गर्ने व्यवस्था छ ।

इन्जिनियरिङ अध्ययन संस्थानले पनि प्रतिस्पर्धाका आधारमा सहायक डिन र पुल्चोक क्याम्पसको प्रमुख नियुक्तिको प्रक्रिया थालेको छ । पुल्चोक इन्जिनयिरिङ क्याम्पस प्रमुखका लागि ५ जना अध्यापकले आवेदन दिएका छन् । चिकित्साशास्त्र अध्ययन संस्थानले शिक्षण अस्पतालको निर्देशक, महाराजगन्ज चिकित्सा र नेपालगन्ज नर्सिङ क्याम्पस प्रमुख नियुक्तिको प्रक्रिया अघि बढाएको छ । डिन कार्यालयले छनोट तथा सिफारिस समिति गठन गरी आवेदन माग गरेको हो । नर्सिङ क्याम्पसको प्रमुखका लागि सुनिता आचार्य र तुलसा सुनारले आवेदन दिएका छन् ।

त्रिविले पदाधिकारी नियुक्तिका लागि ‘त्रिवि सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम २०८१’ जारी गरेको छ । सोही विनियमबमोजिम डिन र देशभरका क्याम्पसमा क्याम्पस प्रमुख नियुक्ति गरिएको थियो भने डिन कार्यालयहरूले मातहतमा सहायक डिन, क्याम्पस प्रमुखलगायत निकाय र पदमा विनियमअनुसार नै नियुक्ति प्रक्रिया अघि बढाएका छन् । विनियममा सिफारिस समिति गठन गर्ने, आवेदन माग गर्ने, मूल्यांकन गर्ने र ३ जनाको नाम सिफारिस भएकामध्येबाट १ जनालाई ४ वर्षका लागि नियुक्त गर्ने व्यवस्था छ । कान्तिपुर