काठमाडौँ, १५ माघ । पूर्वाधार विस्तारका कारण गत कात्तिकदेखि १४ घण्टा मात्र सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी शनिबारदेखि १६ घण्टा सञ्चालन हुने भएको छ ।
यसअघि राति १० बजेदेखि उडान बन्द हुँदै आएको विमानस्थल शनिबारदेखि राति ११ बजे बन्द भएर बिहान ७ बजे खुल्नेछ । अन्तर्राष्ट्रिय एप्रोन, समानान्तर ट्याक्सी, ह्यांगर निर्माणलगायतका पूर्वाधार निर्माणका लागि धावनमार्ग नै बन्द गर्नुपर्ने भएपछि कात्तिक २३ यता १४ घण्टा मात्र विमानस्थल सञ्चालन हुँदै आएको छ । उडान समय घटेपछि राति १० बजेदेखि २ बजेसम्म र बिहान ६ बजेदेखि ८ बजेसम्मका उडानहरू कटौती तथा अघिपछि सारिएको थियो ।
यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले चैत १८ गतेसम्म राति १० बजेदेखि बिहान ८ बजेसम्म उडान रोकेर काम गर्न भन्दै नोटाम जारी गरेर विमानस्थलभित्र तीन वटा फरक–फरक आयोजनाको काम अघि बढाएको थियो । सिनामंगलस्थित हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक इन्जिनियर दीपेन्द्र श्रेष्ठका अनुसार रनवेसँग जोडिएका जटिल काम सम्पन्न भएसँगै उडान समय दुई घण्टा थपिएको छ । उनका अनुसार विमानस्थलभित्र सञ्चालित तीन वटै आयोजनाको ४० प्रतिशत भौतिक कार्य सकिएको छ । सन् २०२६ पछि वार्षिक झन्डै १ करोड यात्रुलाई सेवा दिने लक्ष्यसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार विस्तार थालिएको छ ।
प्रतिक्रिया दिनुहोस्