काभ्रेपलाञ्चोक, १५ माघ । राष्ट्रिय खोप कार्यक्रमअन्र्तगत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप दिइने भएको छ ।
उक्त भाइरसविरुद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाको सम्पूर्ण स्थानीय तहबाट तथ्याङ्क सङ्कलनकार्य सकिएको तथा आवश्यक खोप आइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
देशव्यापी खोप कार्यक्रमअन्तर्गत आगामी माघ २२ देखि फागुन ६ गतेसम्म एकैपटक सञ्चालन हुने खोप जिल्लामा दुई चरणमा लगाइने भएको हो । कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठका अनुसार खोप कार्यक्रम सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । आवश्यकीय खोप जिल्ललास्थित कार्यालयमा आइपुगेको छ । सोहीअनुसार जिल्लाका दुई सय ५२ सामुदायिक विद्यालय तथा ८४ निजी विद्यालयका १५ हजार छ सय ८६ र विद्यालय बाहिर रहेका दुई सय ४९ गरी १५ हजार नौ सय ३५ जना छात्रालाई खोप लगाउने तयारी गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्