समाचार

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु



सल्यान, १५ माघ । सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।

जिल्लाको दार्मा गाउँपालिका-४ मौलाहालेमा रा ७ प ४५५८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कुमाख गाउँपालिका-७ हिले निवासी २६ वर्षीय गोपाल डाँगीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार उनी घर फर्कँदै गर्दा गएराति ८ बजेतिर दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । डाँगीको जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परी सडकदेखि झन्डै सय मिटर तल खसेको प्रनि बस्नेतले जानकारी गराए । मृतकको शव जिल्ला अस्पताल सल्यानमा राखिएको र पोस्टमार्टमपछि आफन्तलाई हस्तान्तरण गरिने उनको भनाइ छ ।