काठमाडौँ, १६ माघ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वावलम्बी अर्थतन्त्रसहित सामाजिक तथा आर्थिक रुपमा सबल, सुदृढ र विकसितमुलुक निर्माणका लागि शहीदहरुको साहस सबैका लागि प्रेरणा भएको उल्लेख गरेका छन् ।
शहीद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, समावेशिता, सबैखाले विभेद्को अन्त्य, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्नुहुने सहीदहरुलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरे ।
वीर शहीदहरुको बलिदान, त्याग, अदम्य साहस, वीरता र हौसलालाई स्मरण गर्दै उनीहरुप्रति हार्दिक श्रद्धासुमन, सम्मान र नमन गर्नका लागि हरेक वर्ष माघ १६ का दिन मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी शहीद दिवस मनाइन्छ । “शहीद दिवस हामीलाई शहीदहरूको सम्झना मात्र गराउने दिन होइन, हामीलाई उनीहरूको मार्गदर्शन र प्रेरणाले अघि बढ्न प्रेरित गर्ने दिन पनि हो”, उनले भनेका छन् ।
उपराष्ट्रपति यादवले सहिद दिवसका अवसरमा सहिदको आदर्श र मूल्यलाई आत्मसात गर्दै, एकताको भावनालाई थप सुदृढ र बलियो बनाउँदै देशको प्रगति, विकास र समृद्धिको लागि दत्तचित्त तथा एकाकार भई मिलेर काम गर्न आह्वान गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्