Banner News

संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण आजको राष्ट्रिय आवश्यकता हो : गृहमन्त्री



काठमाडौँ, १६ माघ । गृहमन्त्री रमेश लेखकले मुलुकमा दिगो शान्ति र स्थायित्व कायम गरी राष्ट्रिय एकता, समुन्नति तथा समाजमा सद्भाव कायम राख्दै सबै मिलेर न्याय, समानता र समृद्ध नेपालको परिकल्पनालाई साकार पार्ने कार्यमा जुट्नुपर्नेमा जोड दिएका छन् ।

आज सहिद दिवसका अवसरमा सिंहदरबार परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा सुशासनसहितको विकास र आर्थिक समृद्धिको यात्रामा सरकार निरन्तर लागिरहेको बताए । 

‘सहिदहरूले देखाएको बाटोमा अघि बढ्दै देशमा दिगो शान्ति, सुशासन, समृद्धि, स्थायित्व र विकासको मार्गलाई सुदृढ गर्दै जानु राष्ट्रिय दायित्व हो’, मन्त्री लेखकले भने, ‘संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण आजको राष्ट्रिय आवश्यकता हो ।’

‘म सरकारको तर्फबाट पुनः प्रतिबद्धता व्यक्त गर्न चाहन्छु, मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि स्थापना गर्ने विषयमा कुनैपनि बाधा, अवरोध र कठिनाइले रोक्ने छैन’, लेखकले भने, ‘हामी अविचलित रूपमा जनताका पक्षमा काम गर्दै अघि बढ्नेछौँ र सहिदका सपना सकार पार्नेछौँ ।’