समाचार

कर्णालीका १ लाख २० हजारबढी किशोरीलाई एचपीभी खोप लगाइँदै



काठमाडौँ, १६ माघ । कर्णालीका १ लाख २० हजार ५१० जना किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी) खोप लगाइने भएको छ । 

नियमित खोपको लक्षित समूह अन्तर्गतका २१ हजार ६५७ जना किशोरी र अभियानको लक्षित समूह अन्तर्गतका ९८ हजार ८५८ किशोरीलाई एचपीभी खोप लगाइने भएको हो । 

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार नियमित खोपको लक्षित समूह अन्तर्गत कक्षा ६ मा अध्ययनरत २० हजार २२३ र अभियानको लक्षित समूह अन्तर्गत कक्षा ७ देखि १० मा अध्ययनरत ७९ हजार १३४ किशोरीलाई उक्त खोप लगाइने छ ।

निर्देशनालयको तथ्याङ्कमा कर्णालीका २१ हजार १५३ जना छात्राहरू विद्यालयको पहुँच बाहिर छन् । विद्यालय नजाने छात्राहरूलाई पनि खोप लगाइने छ । त्यस्ता छात्राहरू १० वर्ष उमेर समूहका १ हजार ४३४ र ११ देखि १४ वर्ष उमेर समूहका १९ हजार ७१९ रहेका छन् । यद्यपि शिक्षा सम्बद्ध निकायहरुले भने पछिल्लो समय अधिकांश छोरीहरू विद्यालयको पहुँचमा पुगेको तथ्याङ्कहरू देखाउँछन् ।