समाचार

अमेरिका र क्यानडा पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ



काठमाडौँ, १६ माघ । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा अमेरिका र क्यानडा पठाइदिने भन्दै १ करोड १२ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ घर भई काठमाण्डौको टोखा नगरपालिका–६ बस्ने २५ वर्षीय भुवन कार्की र काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–३ बस्ने ४२ वर्षीय नितेश पोखरेललाई पक्राउ गरेको हो ।

भुवनले अमेरिका पठाइदिने भन्दै ३ जनाबाट १ करोड र नितेशले क्यानडा पठाइदिने भन्दै ४ जनाबाट १२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।

उनीहरूलाई काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरी तथा अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।