Banner News

प्रचण्डलाई अब ‘भुगोलमा हैन, गुगलमा’ खोज्नुपर्छ : पूर्वमन्त्री बस्नेत



काठमाडौँ, १९ माघ । नेकपा (एमाले)को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहको लठैतलाई राष्ट्रिय युवा संघले लखेट्ने चेतावनी दिनुभएको छ ।

राष्ट्रिय युवा संघ, नेपाल टोखा नगरको तेस्रो अधिवशेनलाई आज सम्बोधन गर्दै नेता बस्नेतले लोकतन्त्रमा कुनै पनि राजनीति दलले स्वतन्त्रपूर्वक आफ्ना राजनीति तथा सांगठनीक गतिविधिहरु गर्न पाउने कुरा संविधानलाई पढ्न र बुझ्न मेयर बालेनलाई आग्रह गर्नुभयो । काठमाडौँमा एमालेले गरको वृहत जनसभामा काठमाडौँ महानगरपालिकाले एक लाख रुपैंया तिराउने पत्र काटेको प्रति उहाँले लोकतन्त्रमा राजनीतिक गतिविधिहरुलाई नियन्त्रण गर्ने बालेनलाई अधिकार कसले दियो ? भनि प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौँका महानगरका प्रमुख बालेन साहले गरिव जनतालाई लखेटे राष्ट्रिय युवा संघले गरिव जनताको पक्षमा आन्दोलनको आँधीवेरी सिर्जना गर्छ । गरिव जनताको गास, वास र कपास नै उठाउने गरी नगरपालिकाले दमन गरे अब राष्ट्रिय युवा संघले गरिव, सोसित तथा पीडितको पक्षमा रहेर आन्दोलनको माध्यमबाट काठमाडौँका मेयर बालेन साहको लठैतलाई लखेट्छ । जनताको पक्षमा रहेर विकास कसरी गर्ने भनेर टोखा, भक्तपुर लगायतका एमालेले नेतृत्व गरेका ठाउँहरुमा हेर्न र सित्तैमा सिक्न आए हुन्छ । हामी तालिमको व्यवस्था गरिदिन्छौं । एमालेलाई गाली गरेर तथा महानगरको १० प्रतिशत बजेट पनि खर्च नगरेर समृद्ध हासिल गर्न सकिँदैन । एमालेले गरेको विकासलाई आफुले गरेको भन्दै केही युट्युवेलाई प्रचार गर्न लगाएर भाषण गरेर हुँदैन । महानगरपालिकामा अरवौं रकमको वेरुजु छन्, आज देशभरकै सवैभन्दा दोस्रो बढी भ्रष्टाचार भएको काठमााडौँ महानगरपालिका हो ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अब भुगोलमा नभई गुगलमा खोज्नुपर्ने अवस्था आएको उल्लेख गर्दै प्रचण्डको ३२ सिटे म्याजिक सधैको लागि विदा भएको उल्लेख गर्नुभयो । अबका पुस्ताले प्रचण्ड कुनै समय नेपालमा राजनीति गर्ने व्यक्ति थिए भने पढ्ने अवस्था आउने उल्लेख गर्दै माओवादीका कार्यकर्तालाई भने एमालेमा प्रवेश गराई नेपालमा कम्युनिष्ट आन्दोलनलाई उच्च तहमा पुर्याउने उद्घोष गर्नुभयो । प्रचण्डको च्याँखे दाउको राजनीति समाप्त भएको बताउँदै उहाँले कहिले कांग्रेस र कहिले एमालेसँगको च्याँखे थापारे प्रधानमन्त्री बन्ने सपना नदेख्न चेतावनी दिनुभयो ।

एमाले र केपी ओलीको नेतृत्वमा नेपाललाई विश्वमा शीर उचो बनाउने असंख्य कार्यहरु भएको उल्लेख गर्दै उहाँले एमाले र कांग्रेस मिलेर देशको संकटलाई मुक्त बनाई समृद्धिको यात्रामा अगाडी बढेको बताउनुभयो । यसवा संघका नेता तथा कार्यकर्ताहरुले एमालेको विरुद्ध लागेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिसनधारीहरुलाई सामाजिक सञ्जालको तर्फबाट परास्त गर्नुपर्ने औंल्याउँदै संघका कार्यकर्ताले उच्चतम प्रविधिको प्रयोग गरी अराजकतालाई अन्त्य गर्न र एमालेका राम्रा कामहरुको आक्रमक रुपले प्रचार प्रसार गर्न निर्देशन समेत दिनुभयो ।