काठमाडौँ, २० माघ । नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदीका समकक्षी अहमद विन सलेमन विन अब्दुल्लाहजिज अल राजी रियादमा भएको बैठकमा नेपाल र साउदीका अधिकारीहरूले बनाएको मस्यौदामा हस्ताक्षर गर्न सहमत भएका हुन् ।
अन्तिम मस्यौदालाई दुवै पक्षले कानुनी प्रक्रिया पूरा भएपछि सम्झौतामा हस्ताक्षर गर्ने मिति टुंगो लगाइनेछ । साउदीले नेपालसमक्ष साधारण श्रमिक, घरेलु श्रमिक र सीप प्रमाणीकरण कार्यक्रमसँग सम्बद्ध सम्झौता गर्ने प्रस्ताव गरेको छ ।
साउदीसँग श्रम सम्झौतामा हस्ताक्षर गर्न नजिक पुगिएको श्रममन्त्री भण्डारीले जनाए । ‘यसका लागि नेपालले लामो समयदेखि गृहकार्य गरिरहेको थियो । यो अन्तिम चरणमा पुगेको छ । यथाशक्य छिटो सम्झौतामा हस्ताक्षर गर्न दुवै पक्ष तयार छौं,’ उनले भने, ‘केही प्राविधिक विषय पूरा गर्न बाँकी रहे । यसलाई छिट्टै पूरा गर्नेछौं ।’
प्रतिक्रिया दिनुहोस्