अर्थ

आठ करोडको सुन्तला उत्पादन



काठमाडौँ, २० माघ । डोटी जिल्लामा एक वर्षको अवधिमा रु आठ करोडको सुन्तला उत्पादन भएको छ ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार उत्पादित अधिकांश सुन्तला अन्य जिल्ला निर्यात गरिएको हो । आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा तीन हजार चार सय आठ दशमलव ६२ मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।

उक्त सुन्तला बिक्री गरेर कृषकले रु आठ करोड आम्दानी गरेका केन्द्रका प्रमुख गङ्गादत्त अवस्थीले जानकारी दिए । यस वर्ष दुई सय ६२ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको थियो । आव २०७८/७९ मा सुन्तला उत्पादन दुई हजार नौ सय ३२ मेट्रिक टन रहेको थियो भने आव २०७९/८० मा उत्पादन बढेर तीन हजार दुई सय ४० मेट्रिक टन पुगेको अवस्थीले बताए ।