राजनीति

राष्ट्रिय सभा अध्यक्ष दाहाल र इजरायली राजदूतबीच भेटवार्ता



काठमाडौँ, २१ माघ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालस्थित इजरायली राजदूत श्मुलिक आरी बासले शिष्टाचार भेट गरेका छन् ।

आज सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा राजदूत श्मुलिकले शिष्टाचार भेट गरेका हुन् । भेटमा दुई देशबिचको कूटनीतिक सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा कुराकानी भएको छ । सो अवसरमा अध्यक्ष दाहालले नेपाल–इजरायल कूटनीतिक सम्बन्ध घनिष्ठ रहेको चर्चा गर्दै आगामी दिनमा पनि दुई देशबिचको सम्बन्ध थप मजबुत र बलियो हुने विश्वास व्यक्त गरे । 

इजरायलले सुरु गरेको लर्न एण्ड अर्न कार्यक्रम नेपालहरूका लागि निकै प्रभावकारी भएको र त्यस्ता कार्यक्रममा गएका नेपालीहरूले कृषि प्रविधिको राम्रो ज्ञान प्राप्त गरी स्वदेश फर्किएर राम्रो प्रगति गरेको बताए । लर्न एण्ड अर्न कार्यक्रममा इजरायल पुगेका नेपाली विद्यार्थीमाथि गत वर्ष भएको घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष दाहालले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको छिटो रिहाइका लागि पहल गर्न आग्रह गरे ।