राजनीति

लुम्बिनी प्रदेशसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने



बुटवल, २६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ५ गतेको लुम्बिनी प्रदेशसभा बैठकमा विशेष सम्बोधन गर्ने भएका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी हुन आउने क्रममा प्रदेशसभाको बैठकलाई पनि सम्बोधन गर्ने गरी प्रदेश सरकारले समय व्यवस्थापन गरेको हो ।

सम्बोधनका लागि लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीको निमन्त्रणाअनुसार मुख्यमन्त्री आचार्यले शुक्रबार नै प्रधानमन्त्री ओलीलाई निमन्त्रणा पठाइसकेका छन् । प्रधानमन्त्री ओलीले फागुन ५ गते सोमबार बस्ने बैठकलाई विशेष सम्बोधन गर्नेगरी कार्यक्रम तय भएको बताए ।

‘हामीले विशेष सम्बोधनका लागि प्रधानमन्त्रीज्यूलाई निमन्त्रणा गरेर समय पनि व्यवस्थापन गरिसकेका छौं,’ उनले भने, ‘सोमबारको प्रदेशसभाको बैठकलाई सम्बोधन गरेर प्रधानमन्त्री घोराहीमा हुने कार्यक्रममा सहभागी हुने र मंगलबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी हुनुहुनेछ ।’