राजनीति

दुई पार्टीले मुलुकलाई उल्टो दिशातर्फ लग्दै छ : झलनाथ खनाल



विराटनगर, २८ माघ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले मुलुकलाई अधोगतितर्फ लगेको आरोप लगाएका छन् ।

आज विराटनगरमा सञ्चारकर्मीसँग उनले नेपाली कांग्रेस र नेकपा (एमाले)को अधिनायकत्व बढ्दा मुलुक अधोगतितर्फ गएको जिकिर गरे ।

उनले भने, “दुई पार्टी (कांग्रेस र एमाले)को अधिनायकत्वले मुलुकलाई अग्रगतितर्फ नभई उल्टो दिशातर्फ लग्दै छ,” “अहिले लोकतान्त्रिक मूल्य–मान्यतालाई चुनौती दिने स्थिति देखा परेको छ ।”

उनले दुई ठूला पार्टीकै कारण वर्तमान राजनीति क्रमिक रूपले संकटतर्फ उन्मुख भएको टिप्पणी गरे । आर्थिक क्षेत्रमा कुनै प्रगति नदेखिएको र मूल्यवृद्धिले समस्या निम्तिएको उनले बताए । उचित ढंगले उद्योगधन्दाको विकास नहुँदा रोजगारी सिर्जना हुन नसकेको उनले उल्लेख गरे । उनले भने, “कृषि क्षेत्र त झन्झन् गतिहीन बन्दै गइरहेको छ ।”