काठमाडौँ, ३० माघ । प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइने पशुपतिनाथको छाया दर्शन पर्व मंगलबार पशुपति क्षेत्रमा विशेष रुपमा मनाइएको छ ।
सूर्य उत्तरायणतर्फ लागेर दिन लामा र न्याना हुन थालेर हिउँद ओरालो लाग्दा यो पर्व मनाउने गरिन्छ । यस दिन पशुपतिनाथ मन्दिरमा विशिष्ट पूजाअर्चना गरेर सर्वसाधारणलाई पशुपतिनाथको शिवलिंगको छायादर्शन गराउने चलन छ ।
पशुपति क्षेत्र विकास कोषको आयोजनामा स्थानीय नेवा समुदायका भक्तजनले पशुपतिनाथको शिवलिंगको पूजा गर्ने र नयाँ मुकुट पहिराउने चलन छ ।
यसरी पूजा सकिएपछि मन्दिरको दक्षिणपट्टिको चोकमा जल भरेर शिवलिंगको छाया प्रतिविम्बित गराई त्यस स्थानमा आउने भक्तजन तथा तीर्थयात्रीलाई दर्शनको प्रबन्ध मिलाइन्छ । यस दिन पशुपतिमा विशेष रहन्छ । आराध्यदेवको प्रतिमाको छाया हेर्न भक्तजनको घुइँचो लाग्छ । यसरी छाया दिउँसोदेखि साँझको आरती अघिसम्म हेर्न पाइन्छ ।
हजारौँ भक्तजनले लाम लागेर पशुपतिनाथको छाया दर्शन गरेको कोष, संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख ईश्वर भण्डारीले जानकारी दिए । सनातन सभ्यताको केन्द्रबिन्दुका रुपमा इतिहास बोकेको विश्वभरिका हिन्दूको आराध्यदेव पशुपतिनाथमा छाया दर्शन हेर्न हजारौँ भक्तजन भेला भएका थिए ।
प्रतिक्रिया दिनुहोस्