काठमाडौँ, ४ फागुन । काठमाडौँको कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएका अर्का एक जनाको पनि उपचारका क्रममा मृत्यु भएको छ ।
काठमाडौँ जिल्ला परिसरका अनुसार गएराति करिब पौने १२ बजेको समयमा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौँ कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको हो ।
योसँगै उक्त ग्यास सिलिन्डर विस्फोटबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि शुक्रबार उपचाररत उदयपुरको उदयपुरगढी-७ घर भइ हाल काठमाडौँ बस्दै आएका २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको थियो । उक्त विस्फोटमा परी १४ जना घाइते भएका थिए । जसमध्ये गम्भीर घाइते भएका ११ जनाको कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो ।
घाइतेमध्ये दुई जनाको गत सोमबार निधन भइसकेको छ । अन्य घाइतेको उपचार जारी छ ।
प्रतिक्रिया दिनुहोस्