काठमाडौँ, ५ फागुन । दैलेखको दुल्लु नगरपालिकाका ११ वर्षीय एक बालकको हत्या भएको छ ।
सुनका चोरीका गहना बिक्री गर्ने क्रममा विवाद हुँदा ती बालकको हत्या भएको दैलेख प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार हत्या अभियोगमा सोही ठाउँका १४ र १७ वर्षीय दुई जना किशोरलाई नियन्त्रणमा लिइएको हो । ११ वर्षीय ती बालक माघ २५ गते दिउँसोदेखि सम्पर्कविहीन थिए । घर परिवारले खोज्दा नभेटिएपछि माघ २६ गते इलाका प्रहरी कार्यालय दुल्लुमा खोजतलासका लागि निवेदन दिएका थिए ।
परिवारले दिएको निवेदनका आधारमा अनुसन्धान गर्दा उनको हत्या गरी खाल्डोमा गाडेको अवस्थामा शव भेटिएको हो ।
प्रहरीका अनुसार हत्या गरिएका ११ वर्षीय बालक र पक्राउ परेका दुई बालक मिल्ने साथी थिए । उनीहरूले हत्या गरिएका बालककी आमाको सुनका गहना चोरेर बिक्री गर्ने योजना बनाएका थिए । त्यही सुनका गहना बिक्रीकै विषयमा विवाद भएको हो । ती मृतक बालकले घरमा भनिदिन्छु भनेपछि उनको हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
दुई बालकले ११ वर्षीय बालकको हत्या गरी उनकै घरको बाँसघारी छेवैमा रहेको खोला किनारमा खाल्डो खनेर पुरिदिएका थिए । शनिवार दुई बालकलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनीहरूले २५ गते नै हत्या गरेर घर नजिकै खाल्डो खनी गाडेका छौं’ भन्ने बयान दिएका थिए ।
हत्या अभियोगमा ती दुई बालकहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्