Banner News

आर्थिक अभावमा बालबालिका क्यान्सरको उपचारबाट वञ्चित हुनुपर्दैन : स्वास्थ्यमन्त्री पौडेल



काठमाडौँ, ५ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट वञ्चित नहुने बताएका छन् ।

मन्त्रालयले मङ्सिर १ गतेबाट लागू हुनेगरी बाल क्यान्सरको निःशुल्क उपचार व्यवस्था गरेको स्मरण गर्दै उनले प्राप्त सहयोग बाल क्यान्सरका कारण हुने मृत्युदर नियन्त्रणमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।

नेपालले विश्व स्वास्थ्य सङ्गठन र सेन्ट जुड चिल्ड्रेन्स  रिसर्च हस्पिटलको पहलमा स्थापित ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्ड हुड क्यान्सर मेडिसिन अन्तर्गत बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधीको पहिलो खेप प्राप्त गरेको हो । क्रमैसँग थप औषधी उपलब्ध हुने सङ्गठनले जानकारी दिएको छ । 

मन्त्री पौडेलले  बाल क्यान्सरको निःशुल्क उपचारका लागि सघाउन नेपालले प्राप्त गरेको औषधिका लागि सहयोगी दाताहरूलाई धन्यवाद दिएका छन् ।

उनले भने, ‘देशको प्रमुख स्वास्थ्य समस्या बनिरहेको क्यान्सर नियन्त्रणका लागि हामीले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति अवलम्बन गरेर उपचारसँगै निरोधात्मक विधि प्रवर्द्धनका लागि पनि काम गरिरहेका छौँ,’ ‘कोही पनि बालबालिका आर्थिक अभावमा क्यान्सरको उपचारबाट वञ्चित नहोउन् भनेर हामीले निःशुल्क उपचारको व्यवस्था पनि गरेका छौँ ।’