समाचार

सवारी दुर्घटनामा परेर ६ महिनामा एक हजार २३३ जनाको मृत्यु



काठमाडौँ, ६ फागुन । चालु आर्थिक वर्षको ६ महिनामा सवारी दुर्घटनामा परेर एक हजार २३३ जनाको मृत्यु भएको छ ।

लापराहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको संख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको हो । 

गृह मन्त्रालयका अनुसार विसं २०८० को पुस मसान्तसम्म देशभर १२ हजार ८५६ सडक सवारी दुर्घटनामा एक हजार १४९ जनाको मृत्यु भएको थियो । यस वर्षको पुस मसान्तसम्म ११ हजार ३३८ सवारी दुर्घटना हुँदा एक हजार २३३ जनाको ज्यान गएको छ ।

गत वर्षको ६ महिनाको तुलनामा यस वर्षको ६ महिनामा सवारी दुर्घटनाको संख्या घटे पनि मृत्यु हुनेको संख्या वृद्धि भएको छ ।


मन्त्रालयका अनुसार गत साउनमा एक हजार ६२८ सडक दुर्घटनामा १५२, भदौमा एक हजार ६१९ दुर्घटनामा १७४ जनाको मृत्यु भएको थियो । गत असोजमा एक हजार ८७३ दुर्घटनामा दुई सय, कात्तिकमा एक हजार ९२८ दुर्घटनामा परी २५८ जनाको मृत्यु भएको विवरण छ । 

अघिल्लो गत मंसिरमा दुई हजार १४ सडक सवारी दुर्घटनामा २५२ र पुसमा सबैभन्दा बढी दुई हजार २७६ दुर्घटनामा परेर १९७ जनाको मृत्यु भएको छ । मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार गण्डकी, काठमाडौं उपत्यका र कर्णालीमा दुर्घटनाको संख्या घटे पनि मृत्यु हुनेको संख्या बढेको छ । 

मधेस प्रदेश र वाग्मती प्रदेश (काठमाडौं उपत्यका) बाहेकमा दुर्घटनाको संख्या बढे पनि मृत्यु हुनेको संख्या घटेको छ ।