अर्थ

पहिरोमा मृत्यु भएकाको परिवारलाई राहत रकम प्रदान



गोरखा, ६ फागुन । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँटको पहिरोमा परेर ज्यान गुमाएकाको परिवार र घाइतेलाई राहत रकम प्रदान गरिएको छ ।

वाटर इनर्जी डेभलपमेन्ट कम्पनीको आयोजनास्थलमा गत साउन १३ गतेको भीषण पहिरोमा परेर ज्यान गुमाएकाको परिवार र घाइतेलाई आयोजनाको तर्फबाट पहिलो किस्ताको राहत रकम उपलब्ध गराइएको छ । 

गाउँपालिकाको पहलमा कम्पनीसँग प्रतिमृतक रु तीन लाख र घाइतेलाई रु छ लाख दुई किस्ता गरेर उपलब्ध गराउने सहमति भएको थियो, सोही सहमति बमोजिम मृतकको परिवारलाई पहिलो किस्ताको राहत रकम प्रतिमृतक रु एक लाख ५० हजार र घाइतेलाई रु तीन लाख उपचार खर्च सोमबार उपलब्ध गराइएको हो । 

कम्पनीका कर्मचारीसमेत भएकाले मृतक रमेश गुरुङको परिवारलाई भने कम्पनीले राहतबाहेक थप रु सात लाख दिने सहमतिअनुसार पहिलो किस्ताको रु तीन लाख ५० हजार पनि प्रदान गरिएको हो । कम्पनीले बाँकी रकम दोस्रो किस्तामा उपलब्ध गराउने छ । गएको गत साउन १३ गते रेसेफाँटको पहिरोमा परेर एकै परिवारका तीन जनासहित पाँच जनाले ज्यान गुमाएका थिए ।