राजनीति

प्राविधिक शिक्षाले मुलुकको समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्छ : महासचिव पोखरेल



काठमाडौँ, ६ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले प्राविधिक शिक्षाले मुलुकको समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । 

आज दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको बहुप्राविधिक शिक्षालय मेट्रो कलेजमा निर्माण सुरु गरिएको सभाहलको शिलान्यास गर्दै उनले प्राविधिक शिक्षालयमा लगानी वृद्धि गर्नुपर्ने बताए ।

महासचिव पोखरेलले विकसित मुलुकहरूमा प्राविधिक शिक्षामा पहुँच र आकर्षण दिनप्रतिदिन बढिरहेको उल्लेख गर्दै नेपालमा पनि सोही अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले साधारण शिक्षाभन्दा प्राविधिक शिक्षाले सीप सहितको जनशक्ति उत्पादन हुने बताए ।  

कार्यक्रममा मेट्रो कलेजका निवर्तमान अध्यक्ष एवं तुलसीपुरका पूर्वनगरप्रमुख घनश्याम पाण्डेले कलेजको सुरुआत गर्दा नै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिइएको बताए । उनले गुरुयोजनाअनुसार विद्यार्थीका लागि प्रयोगात्मक अभ्यास गर्नसक्ने बृहत् सभाहलको निर्माण थालिएको जानकारी गराए ।