सुर्खेत, ८ फागुन । नेकपा एमालेका सचिव योगेश भट्टराईले ०८४ पछि एमालेले बहुमतको सरकार बनाउने दाबी गरेका छन् ।
आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनका बोल्दै अहिलेको समीकरण ०८४ सम्म अगाडि बढाउने पनि बताए । त्यसपछि दुवै दल आ-आफ्नै तरिकाले चुनाव लड्ने उनको भनाइ छ ।
उनले भने, ‘संसदमा पक्ष र विपक्षी बलियो हुनुपर्छ, ०८४ पछि एमालेले एक्लै बहुमत ल्याएर सरकार बनाउने छ । यो हाम्रो दाबी हो । अब बिस्तारै नेपालमा निर्वाचनका लागि राजनीतिक समीकरण गर्ने गलत परम्परा अन्त्य हुनुपर्छ । आआफ्नो तरिकाले चुनाव लड्नुपर्छ । समीकरणले सरकार फेरबदल भइरहने परम्पराको अन्त्य हुनुपर्छ ।’
अध्यादेश जसरी पनि पास हुने उनको भनाइ छ । भूमि सम्बन्धी अध्यादेशको विषयमा उपेन्द्र यादवसँग कुरा भइरहेको र यो विधेयक पनि पास हुने उनले जिकिर गरे ।
सामाजिक सञ्जाल नियमन गर्न पहिलादेखिकै सरकार लागि रहेको उल्लेख गर्दै उनले भने ‘हाम्रो चाहना निषेध हैन नियमन हो । फेसबुक, युट्युबबाट क्राइम भएको छ त्यसलाई नियन्त्रण कसरी गर्ने ? त्यसैले दर्ता गरेर चलाउनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’
प्रतिक्रिया दिनुहोस्