Banner News

मधेश/तराईमा माओवादीको २१ दिने पूर्व–पश्चिम राजनीतिक यात्रा



काठमाडौँ, ९ फागुन । माओवादीले आफ्नो संगठन कमजोर भएका मधेश र तराईका जिल्लामा तीन साता लामो जागरण अभियान तय गरेको छ । नेपालको सबभन्दा दक्षिणमा रहेको पूर्वपश्चिम हुलाकी राजमार्गमा पर्ने जिल्लालाई केन्द्रित गरी ‘जनतासँग माओवादी, तराई/मधेश जागरण अभियान’ २० जिल्लामा सभा र अन्तरक्रिया गर्ने तालिका सार्वजनिक गरेको छ ।

माओवादीको तराई मधेशमा संगठन कमजोर भएकाले त्यस क्षेत्रमा अभियान सुरु गरेको जनाएको छ । कोशी प्रदेशसभामा माओवादी तेस्रो स्थानमा रहेको छ । प्रदेशसभाको ९३ सदस्यमध्ये माओवादीको १३ सदस्य छन् । फागुन १२ देखि नेपालको सबभन्दा होचो स्थान झापाको कलबलगुढीबाट अभियान सुरु भई चैत ७ कञ्चनपुर पुगेर समापन हुने माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् ।

‘पहिलो चरणमा झापाको कलबलगुढीबाट तराई मधेश अभियान सुरु गरी पश्चिमतिर जाने तय भएको छ,’ उनले भने, ‘हुलाकी राजमार्ग पूरा भएको क्षेत्रमा त्यहीं सभा हुनेछ भने निर्माण नभएको क्षेत्रमा महेन्द्र राजमार्गमा कार्यक्रम गरिनेछ ।’

तीन साता लामो अभियानको नेतृत्व अध्यक्ष पुष्पकमल दाहालले गर्नेछन् । उनीसँग अभियानभर नेता, कार्यकर्ता र सुरक्षाकर्मीसहित डेढ सयको टोली हुने छ । २० जिल्लामा हुने सभामा स्थानीयको सहभागिता हुनेछ । माओवादीले जागरणसभा भने पनि यो सरकारलाई खबरदारी सभाको रुपमा रहने छ ।

कोशी प्रदेशको झापा र मोरङमा सभा गर्ने भएको छ । मधेश प्रदेशको १०७ सदस्यमध्ये माओवादीले जम्मा ९ स्थान मात्र जितेको छ । मधेश प्रदेशमा माओवादी छैटौं स्थानमा छ । तराई मधेश लोकतान्त्रिक पार्टीभन्दा माओवादी पछि छ । मधेशमा माओवादीको संगठन कमजोर भएकाले हुलाकी राजमार्ग केन्द्रित अभियान सुरु गरेको मधेश इञ्चार्ज एवं उपमहासचिव मात्रिका यादवले बताए । मधेशमा हाम्रो संगठन भए पनि कतिपय स्थानमा कमजोर अवस्था छ,’ उनले भने, ‘माओवादीको विचारलाई मधेशका जनतासँग जोड्न चाहन्छौं ।’ उनले नेपाल भारत सीमा क्षेत्रमा माओवादीको संगठन विस्तार गर्ने मुख्य उद्देश्य रहेको बताए । ‘मधेश र तराईमा जनता जगाउँदै अभियान चल्छ,’ उनले भने ।

माओवादीले मधेश प्रदेशमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा सभा र अन्तरक्रिया गर्ने तालिका छ । लुम्बिनी प्रदेशसभा माओवादी तेस्रो स्थानमा छ । ८७ सदस्यीय प्रदेशसभामा माओवादीको ११ सदस्य छन् । लुम्बिको परासी (नवलपरासी पश्चिम) रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा सभा गर्ने भएको छ ।

वाग्मती प्रदेशको चितवन, गण्डकीको नवलपरासी पूर्वी भागमा पनि एक, एक दिन सभा गर्ने तयारी माओवादीले गरेको छ । सुदूरपश्चिमको ५३ सदस्यीय प्रदेशसभामा एमाले र माओवादी समान सदस्य ११ छन् । कांग्रेस ११ सदस्यसहित पहिलो स्थानमा छ भने एमाले माओवादी दोस्रो स्थानमा छन् । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा सभा हुनेछ ।

‘अभियानको स्वरूप जनसभा, चोकसभा, अन्तरक्रिया, जनभेटघाट आदि हुने छ । अभियानको क्रममा कार्यक्रम गर्ने स्थानहरूको निर्धारण सम्बन्धित प्रदेश तथा जिल्लाहरूले तय गरेबमोजिम हुने छ,’ माओवादीको निर्णयमा भनिएको छ ।

अभियान टोलीमा सहभागी पार्टी अध्यक्ष दाहाल नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उपमहासचिवहरु साथै सांस्कृतिक टोली र केही सञ्चारकर्मी रहने जनाइएको छ । सम्बन्धित प्रदेश र जिल्लाका पार्टी नेता, कार्यकर्ता, जवस मोर्चाका नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तक र जनसमुदायहरू अभियानमा सहभागी गराउने तयारी माओवादीको छ । अभियानको खाने, बस्ने र अन्य खर्चको व्यवस्थापन सम्बन्धित प्रदेश इञ्चार्जको नेतृत्वमा सम्बन्धित जिल्ला पार्टीहरूले गर्न निर्देशन दिइएको छ ।

यस्तो कार्यक्रम तालिका

कोशी प्रदेश

झापा– फागुन –१२ गते

मोरङ– फागुन १३ गते

(फागुन– १४ गते शिवरात्री)

सुनसरी – १५ गते

मधेश प्रदेश

सप्तरी– फागुन १६ गते

सिराहा– फागुन १७ गते

धनुषा– फागुन १८ गते

महोत्तरी– फागुन १९ गते

सर्लाही– फागुन २१ गते

रौतहट– फागुन २२ गते

बारा– फागुन २३ गते

पर्सा– फागुन २४ गते

बागमती प्रदेश

चितवन– फागुन– २५ गते

गण्डकी प्रदेश

नवलपुर (नवलपरासी पूर्व)– फागुन २६ गते

लुम्बिनी प्रदेश

परासी (नवलपरासी पश्चिम) फागुन– २७ गते

रुपन्देही– फागुन २८ गते

कपिलवस्तु– चैत २ गते

दाङ– चैत ३ गते

बाँके– चैत ४ गते

बर्दिया– चैत ५ गते

सुदूरपश्चिम प्रदेश

कैलाली–चैत ६ गते

चैत्र ७ गते कञ्चनपुर अभियान समापन

कान्तिपुर