अर्थ

१५९ मुलुकसँग व्यापार, ३५ मुलुकसँग नाफा, १२४ सँग घाटा



काठमाडौँ, ९ फागुन । स्वदेशमै उत्पादित वस्तुको निर्यात बढाउन नसक्दा नेपालले १ सय २४ मुलुकसँग घाटा बेहोरिरहेको छ । स्वदेशमै पर्याप्त उत्पादन हुन सक्ने कृषि वस्तुसमेत आयात हुँदा यी मुलुकसँग घाटा भएको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको व्यापार तथ्यांकअनुसार ७ महिनामा ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ घाटा भएको छ ।

यो रकम गत आर्थिक वर्षको पहिलो ७ महिनाभन्दा ६.२० प्रतिशतले बढी हो । २०८०/८१ को पहिलो ७ महिनामा मुलुकको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ थियो । सबैभन्दा धेरै व्यापार घाटा भारत र चीनसँगै छ । भारतसँग ४ खर्ब ९८ अर्ब ३४ करोड रुपैयाँ र चीनसँग १ खर्ब ९० अर्ब ४४ करोड घाटा छ ।

छिमेकी मुलुकसँगै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकसँग पनि व्यापार घाटा नै छ । तथ्यांकअनुसार १ सय ५९ मुलुकसँग नेपालको द्विपक्षीय व्यापार हुन्छ । तीमध्ये ३५ मुलुकसँग व्यापार नाफा र १ सय २४ मुलुकसँग घाटा छ । व्यापार घाटा खर्ब–अर्बमा भइरहँदा नाफा भने करोडमा छ ।

७ महिनामा ३५ मुलुकसँगको व्यापारमा ९१ करोड नाफा भएको छ । १ सय २४ मुलुकसँग ८ खर्ब ६२ अर्ब २३ करोड घाटा रहेको विभागको तथ्यांक छ । ७ महिनामा निर्यात व्यापार नबढेको पनि होइन । निर्यात ४७ प्रतिशतले बढेर १ खर्ब नाघेको छ । तर ९ खर्ब ८८ अर्ब ५७ करोडको वस्तु आयात भएको छ ।

वस्तुको आयात–निर्यातको खाडल ठूलो छ । विडम्बना वैदेशिक व्यापार सन्तुलन मिल्ने सम्भावना पनि तत्काल नरहेको जानकार बताउँछन् । यसका लागि सेवा व्यापारमा जोड दिनुपर्ने उनीहरूको भनाइ छ । वस्तु खरिद गर्दा डलर बाहिरिएको छ । यसको विकल्प वस्तु व्यापार न्यूनीकरण हो । पर्यटन, ऊर्जा र आईटी क्षेत्रमा सम्भावना रहेको उनीहरूको भनाइ छ । हाइड्रोको कुरा गर्दा विद्युत् निर्यात गर्न सकिन्छ । आईटी क्षेत्रमा कम्प्युटरका सामान आयात भए पनि सफ्टवेयर निर्माण गरेर निर्यात गर्न सकिन्छ । यसले वस्तुको व्यापार घाटा न्यूनीकरण गर्न सकिने उनीहरू बताउँछन् ।

सात महिनाको तथ्यांकअनुसार अफगानिस्तानसँग ५८ करोड, डेनमार्कसँग १४ करोड व्यापार नाफा छ । यीबाहेक अन्य मुलुकसँग नाफा न्यून छ । ७ महिनामा १ खर्ब २७ अर्ब २० करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिमा ४६.५० प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८०/८१ को पहिलो ७ महिनामा ८६ अर्ब ८३ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

२०७७/७८ को १० महिनामा पहिलो पटक १ खर्ब ८ अर्ब ४७ करोडको वस्तु निर्यात भएको थियो । त्यसपछि २०७८/७९ को ५ महिनामा १ खर्ब २ अर्ब ९२ करोडको निर्यात भएको थियो । २०७९/८० को ८ महिनासम्म आइपुग्दा निर्यात रकम १ खर्ब ४ अर्ब ७९ करोड नाघ्यो । २०८०/८१ मा पनि ८ महिनामा १ खर्ब ६१ करोडको वस्तु निर्यात भएको थियो । २०८१/८२ मा भने ७ महिनामा १ खर्ब २७ अर्ब २० करोड वस्तु निर्यात भएको छ ।

वस्तुको निर्यात बढ्नु राम्रो भए पनि भ्यालु एड भएर निर्यात भएका वस्तुले समग्र निर्यात बढाइदिएका छन् । तेस्रो मुलुकबाट आयातित भटमास र सूर्यमुखी तेल निर्यात बढ्दा समग्र निर्यातमा वृद्धि देखिएको हो । नेपाल–भारत वाणिज्य सन्धिअनुसार नेपालमा ३० प्रतिशत मूल्य अभिवृद्धिसहित उत्पादित वस्तुले भारतीय बजारमा भन्साररहित प्रवेश पाउँछन् ।

सोही सुविधाको फाइदा उठाउँदै उद्योगीले तेल निर्यात गरिरहेका छन् । भारतमा निर्यात गर्दा उद्योगीले अग्रिम भुक्तानी पनि पाउने गरेका छन् । सोही कारण निर्यात बढेको हो । तथ्यांकअनुसार ७ महिनामा ३२ अर्ब ४१ करोडको सोयाबिन तेल र ६ अर्ब ५७ करोडको सनफ्लावर तेल निर्यात भएको छ ।

तेस्रो मुलुकबाट आयात हुने यी वस्तुको निर्यात दीर्घकालीन होइन । स्वदेशमै उत्पादन भएर निर्यात गर्न सके मुलुकका लागि राम्रो हुृने जानकार बताउँछन् । विभागका महानिर्देशक महेश भट्टराई भने अर्थतन्त्रलाई योगदान दिन स्वदेशी वस्तुमात्रै नभई आयातित कच्चा पदार्थ प्रोसेसिङ गरी भ्यालु एड गरेर निर्यात गर्न सकिने बताउँछन् । यसले मुलुकभित्र केही न केही रोजगारी सिर्जना गर्ने उनको भनाइ छ ।

‘स्वदेशी उत्पादन निर्यात गर्न सके धेरै राम्रो हो । तर आन्तरिक उत्पादनले मात्रै पनि पुग्दैन । कतिपय अवस्थामा तेस्रो मुलुकबाट आयात गरी भ्यालु एड गरेरै निर्यात गर्ने हो । अर्को विकल्प तेस्रो मुलुकबाट ल्याएर मुनाफा राखेर पनि पठाउन सकिन्छ,’ उनले भने । तथ्यांकअनुसार अलैंचीको निर्यात पनि उत्साहजनक छ । ७ महिनामा ५ अर्ब ३८ करोडको निर्यात भएको छ । ३ अर्ब ८९ करोडको कार्पेट, ३ अर्ब १० करोडको ऊनी धागो निर्यात भएको छ ।

यसैगरी आयात व्यापार १० प्रतिशतले बढेको छ । ७ महिनामा ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँको वस्तु आयात भएको छ । २०८०/८१ को पहिलो ६ महिनामा ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँको वस्तु आयात भएको विभागको तथ्यांक छ । आयात हुने वस्तुमा सबैभन्दा अगाडि पेट्रोलियम पदार्थ नै छ ।

७ महिनामा ६६ अर्ब ४८ करोडको डिजेल, ३७ अर्ब ६४ करोडको पेट्रोल, ३५ अर्ब ४७ करोडको ग्यास, ११ अर्ब ४ करोडको हवाई इन्धन आयात भएको छ । ३१ अर्ब ६८ करोडको सोयाबिन (कच्चा पदार्थ), २९ अर्ब ९५ करोडको आइरन स्टिल आयात भएको छ । १३ अर्ब ९७ करोडको सनफ्लावर (कच्चा पदार्थ) आयात भएको छ । कृषिप्रधान मुलुकमा ७ महिनामै १४ अर्ब ५१ करोडको धान, ७ अर्ब ४० करोडको मकै आयात भएको छ । कान्तिपुर