समाचार

सुधार केन्द्रमा एक युवकको शङ्कास्पद मृत्यु



जनकपुर, ९ फागुन । धनुषाको गणेशमान चारनाथ नगरपालिका–१० डुमरियाका २० वर्षीय राजकुमार यादवको जनकपुरधामस्थित किशोर फाउन्डेसन सुधार केन्द्रमा शङ्कास्पद मृत्यु भएको छ ।

बुधबार साँझ निधन भएका यादव दुई महिनादेखि सुधार केन्द्रमा बस्दै आएका थिए । सुधार केन्द्रका व्यवस्थापक सञ्जीव शर्माका अनुसार, राजकुमार लागू पदार्थ दुर्व्यसनीमा थिए ।

उनलाई बुधबार बिहान घाँटीमा कफ जम्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि समर अस्पताल लगिएको थियो । अस्पतालले सामान्य अवस्था देखिएको भन्दै निगरानीमा राख्न सल्लाह दिए पनि, साँझ फेरि समस्या भएपछि प्रादेशिक अस्पताल लगिएको थियो, जहाँ मृत्यु भएको दाबी गरिएको छ ।

तर, प्रादेशिक अस्पतालका आकस्मिक कक्षका इन्चार्ज शरद यादवका अनुसार, अस्पताल ल्याउँदा नै राजकुमारको मृत्यु भइसकेको थियो । परिवारजनले सुधार केन्द्रमा अत्यधिक औषधि खुवाइएकै कारण मृत्यु भएको आशङ्का गरेका छन् । मृतककी आमाले चार दिनअघि छोराको अवस्था कमजोर देखेर घर लैजान चाहेको भए पनि सुधार केन्द्रले उनलाई रोकिएको थियो ।

प्रहरीले मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने बताएको छ । राजकुमार घरका एक्ला छोरा थिए । उनका दुई सन्तान छन् भने उनका पिता वैदेशिक रोजगारीमा रहेका छन् । परिवारले निष्पक्ष छानबिनको माग गरेको छ ।