राजनीति

अपमानबाट जोगिन आफ्नो देश आफैं बनाऔं : महासचिव पोखरेल



काठमाडौँ, ९ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरिबी माथिको अपमानबाट जोगिने हो भने आफ्नो देश आफैं बनाउनु पर्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फ्रड’ भन्दै नेपाललाई दिने गरेको अनुदान रकम कटौती गरेको प्रसंगमा महासचिव पोखरेलले सो धारणा राखेका हुन् ।

त्यसलाई पूर्वमन्त्री समेत रहेका एमाले महासचिव पोखरेलले ‘गरिबी माथिको अपमान’ भनेर टिप्पणी गरेका छन् । त्यसैले उनले आफ्नो देश नेपाल आफैं बनाउने अभियानमा जुट्न आह्वान गरेका हुन् ।

पोखरेलले फेसबुकमा लेखेका छन्, ‘विदेशी अनुदानका कार्यक्रमको झण्डै ७० प्रतिशत हिस्सा सम्वन्धित मुलुकमा फर्कने गरेको तथ्य विभिन्न अध्ययनले देखाएका छन् । त्यस्ता अनुदानलाई अमेरिकी राष्ट्रपतिले फ्रड भनेका हुन् भने त्यसको नैतिक दायित्व पनि ती मुलुककै होला नि ।’ ‘गरिबी माथिको अपमानबाट जोगिन आफ्नो देश आफैं बनाउने अभियानमा जुटौं र भनौ‌ं– हामी बनाउँछौं हाम्रो देश नेपाल ।’