काठमाडौँ, ९ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेकपा एमाले फुटाएर आफूले सही र जायज काम गरेको बताएका छन् ।
आज ललितपुरको जावलाखेलस्थित स्थानीय विकास प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सुरु भएको पार्टी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेको नाम नलिईकनै दक्षिणपन्थी अवसरवादविरुद्ध विद्रोह गरेको बताए ।
उनले भने, ‘नेपालको राजनीतिमा क्रान्तिकारी धारको रक्षा गर्न र दक्षिणपन्थी अवसरवादविरुद्ध विद्रोह गर्यौं र त्यो विद्रोह जायज थियो भन्ने कुरा दिनदिनैका घटनाक्रमहरूले पुष्टि गरिरहेका छन्,’ ।
नेपालले एमालेसँग विद्रोह गरेर नयाँ पार्टी बनाएकोमा गौरवबोध गर्ने पनि बताए । ‘हामीले बहुत न्यायोचित र जायज काम गर्यौ’ उनले भने, ‘कम्युनिष्ट आन्दोलनको रक्षा गरेर अगाडि बढाएर लैजानका लागि, आफ्नो क्रान्तिकारी दायित्व पूरा गर्नका लागि एकीकृत समाजवादी गठन गरेकोमा गौरवबोध गर्छौं ।’
प्रतिक्रिया दिनुहोस्