राजनीति

माथिल्लो म्याग्दी जलविद्युत निर्माण सुरु



म्याग्दी, १२ फागुन । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदी नाउरामा ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजना २६ महिनामा केन्द्रीय ग्रिडमा जोड्ने गरी निर्माण कार्यले तीव्रता पाएको छ ।

जिल्लाको विकट बस्ती नाउरा, सिन्कोस बगर आसपासका क्षेत्रमा पहुँच मार्ग पुर्याएपछि सुरुङ निर्माणमा जुटेको आयोजनाले अब निर्धारित समयमै उत्पादन गर्ने जनाएको छ । 

हाइड्रो इम्पाएर प्रा.ली. प्रवर्द्धक रहेको आयोजनाले सिम्कोश दोभानको बाँध देखि घिम्लेटी जोड्ने ४ किलोमिटर लामो सुरुङ निर्माण कार्यको उद्घाटन समारोहमा आयोजनाका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले स्रोतसाधन र जनशक्ति परिचालन गरिएकाले अबको २४ महिनाभित्र विद्युत् उत्पादन गर्ने बताउनुभयो । वि.स २०८२ चैत मसान्त भित्र सम्पन्न गर्ने लक्ष्य सहित बाँध, सुरुङ र विद्युतगृह निर्माणको काम सुरु गरिएको छ । आयोजना म्याग्दी नदीमाथि ५० र ३० मेट्रिक टन क्षमताको दुई वटा बेलिब्रिज जडान गरेको गरेर आयोजना निर्माण स्थललाई पहुँच मार्गले जोडेको छ । 

मुदीको सिन्कोस र म्याग्दी खोलाको दोभान भन्दा एक सय ३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा बाँध, म्याग्दी खोलाको बायाँ किनारमा भूमिगत बालुवा थिग्राउने पोखरी, हेड रेस सुरुङ बन्ने आयोजनाको बिद्युतगृह म्याग्दी खोला र मुदी खोला भन्दा एक किलोमिटर माथि निर्माण थालिएको छ । ४ किलोमिटर लामो सुरुङबाट ल्याइने पानी तीन सय दशमलव ८८ मिटर अग्लो हेडबाट बिद्युत गृहमा खसालेर बिद्युत् उत्पादन गरिने भएको छ । आउट लेटदेखि विद्युतगृहसम्म सात सय ९७.९६ मिटर लामो पेन स्टक पाइप जडान गरिने छ । आयोजनास्थलमा विस्फोटक पदार्थको ढुवानी तथा भण्डारणका लागि नेपाली सेनाको क्याम्प स्थापना भएको छ । कुल ६ अर्ब ६९ करोड ९४ लाख ९५ हजार लागत अनुमान गरिएको आयोजनामा प्रवर्द्धक र सर्वसाधारणको सेयर बाहेक सिद्धार्थ बैङ्क, नेपाल एसबिआई, सिटिजन्स बैङ्क, एभरेस्ट बैङ्क र नबल बैङ्कको ५ अर्ब ३४ करोड ८८ लाख ९८ हजार लगानी रहने छ । 

७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी रहने आयोजना पूरा भएपछि दुई सय १५.७१४ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुनेछ । उत्पादित विद्युत् विद्युतगृहदेखि ९.२ किलोमिटर दूरीको एक सय ३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत डाडाखेत सब स्टेसनमा केन्द्रीय ग्रिडमा जोड्नका लागि नेपाल विद्युत् प्राधिकरण मार्फत मालिका गाउँपालिका–७ डाडाखेतमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण भइरहेको छ ।