राजनीति

आजदेखि माओवादीको तराई–मधेस जनजागरण अभियान 



झापा, १२ फागुन । नेकपा (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी, तराई–मधेस जनजागरण अभियान’ आजदेखि सुरु हुँदैछ ।

सो अभियान झापाको कचनकबलबाट सुरु भई हुलाकी राजमार्ग हुँदै कञ्चनपुरमा समापन हुनेछ । जसअन्तर्गत कोशी प्रदेशका तीन जिल्ला झापा र सुनसरीमा एक–एक दिन तथा मोरङमा २ दिन अभियान चल्ने भएको छ । सोमबार झापाको कचनकवल गाउँपालिकाको बनियानीमा बिहान ९ बजे उद्घाटन हुनेछ । त्यसपछि बाह्रदशी गाउँपालिका र झापा गागाउँपालिकामा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गर्ने तय भएको छ । 

फागुन १३ गते मोरङको रतुवामाई नगरपालिकाको आमवाडी चौक, कानेपोखरी गाउँपालिकाको रमाइलो चोक, धनपालथान गाउँपालिकाको कर्सिया र विराटनगरमा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गर्ने माओवादीले जनाएको छ । सुनसरीमा भने १५ गते सुरु हुनेछ । सो दिन सुनसरीको बर्जु गाउँपालिकाको चिमडी, गढी गाउँपालिकाको हरिनगरा, लौकही र इनरुवामा भेटघाट, अन्तरक्रिया तथा सभाको आयोजना गर्ने तय भएको छ । 

अभियानको क्रममा पार्टी अध्यक्ष प्रचण्डसहित पदाधिकारीको टोली सहभागी हुनेछ । अभियान अवधिमा झापा, मोरङ र सुनसरीबाट मात्रै कम्तीमा ५ हजार अन्य पार्टीका नेता तथा कार्यकर्ता र सामाजिक व्यक्तित्वहरूलाई पार्टी प्रवेश गराउने लक्ष्य माओवादीको छ ।

अभियानकै क्रममा हिमाली र पहाडी जिल्लाबाट बसाई सराइ वा अन्य कामको सिलसिलामा झापा, मोरङ, सुनसरी, उदयपुरमा रहेका पार्टीका कार्यकर्ता तथा शुभचिन्तकहरूलाई संगठित गर्ने, किसानहरू समस्याहरूलाई समाधान गर्न र सहजीकरण गर्न पार्टीको केन्द्रीय सदस्य र प्रदेशको नेतृत्व र जनप्रतिनिधिहरूमार्फत कृषि मल, बिउ, प्रविधि, सिँचाइ, कृषि उपजको बजारीकरण र प्रशोधनलगायत समस्याको समाधान गर्न सहजीकरण गर्ने, भ्रष्टाचार, बेथिति, ढिलासुस्ती, कर छली, तस्करी र अनियमितताविरुद्ध निगरानी र भण्डाफोर अभियान चलाउने बताइएको छ ।